अन्तर्राष्ट्रिय फुटबलका प्रभावशाली पदाधिकारी स्पेनिस फुटबल संघका अध्यक्ष एञ्जल भिलार गालाजकी भतिजी मारियाको मेक्सिकोमा अपहरणकारीले हत्या गरेका छन्। गत साता मेक्सिकोमा उनको हत्या भएको बताइएको छ। उनी सेप्टेम्बर १३ देखि सम्पर्कविहिन थिइन्।
अपहरणकारीले उनको परिवारसँग फिरौतीका लागि मोटो रकम माग गरेका थिए। जुन रकम परिवारले मारियाको बैक अकाउन्टमा दाखिला गरेका थिए। तर, एटीएमबाट रकम निकासा गरिसकेपछि उनको हत्या गरिएको बताइएको छ। स्पेनी विदेश मन्त्री जोसे मानुअल गार्सिया मार्गालोले यस सम्बन्धमा थप जानकारी दिँदै भने– ‘अपहरणकारीले माग बमोजिमको रकम नपाएपछि उनको हत्या गरेका हुन्।’ उनको परिचय मंगलबार मात्र खुलेको थियो।
मन्त्री गार्सियाले स्पेनिस रेडियोसँगको साक्षात्कारमा भने,‘जतिबेला लेनदेनको क्रम जारी थियो, उनको आवाज ठिकठाक आइरहेको थियो। तर, पछि दूर्भाग्यपूर्ण कुरा सुनियो।’
मेक्सिकोको प्रहरीले सेप्टेम्बर १५ मा टोलुका शहरमा एक अपरिचित महिलाको लास भेटेको थियो। त्यो लास मारियाको भएको २ दिनपछि मात्र खुल्यो। मारियाको मृत्य शरीर लिन उनको परिवार र दुई स्पेनिस पुलिस अधिकारीले मेक्सिकोको यात्रा गरेका थिए।
एञ्जल सन् १९८८ देखि स्पेनिस फुटबलको अध्यक्षमा नियुक्त छन्। पूर्व अन्तर्राष्ट्रिय मिडफिल्डरसमेत रहेका उनले युरोपेली फुटबल र फिफाको वरिष्ठ पदमा बसेर काम गरिसकेका छन्।