क्रिकेटको जननी बेलायत मानिन्छ। बेलायतमा क्रिकेटको सबैभन्दा पुरानो क्लब मात्र छैन, क्रिकेटको महत्वपूर्ण इतिहास पनि बोकेको छ। त्यसैले बेलायतबाट क्रिकेट खेल्ने थुप्रै खेलाडीले ‘सर’ को उपाधि पनि पाएका छन्।
तर, रमाइलो कुरा बेलायत र वेल्स क्रिकेट बोर्ड (इसीबी) ले हालै गरेको एउटा सर्वेक्षणमा यस देशमा क्रिकेट खेलाडीभन्दा बढी लोकप्रिय वल्र्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्लुडब्लुई) का खेलाडी देखिएका छन्।
इसीबीले स्वतन्त्र निकायबाट गराएको एउटा सर्वेक्षणमा बेलायतको टेस्ट कप्तान एलेस्टर कुकभन्दा बढी लोकप्रिय डब्लुडब्लुईका खेलाडी देखिएका छन्। केही समयअघि पाकिस्तानविरूद्ध घरेलु शृंखलाका लागि क्रिकेट हेर्न ठूलो मात्रामा भीड लन्डनको रंगशालामा लागेको थियो। यसैको आधारमा धेरैले लख काटेका थिए, बेलायतमा फुटबल खेलाडीपछि सर्वाधिक लोकप्रियको सूचीमा क्रिकेट खेलाडी होलान्। तर, सर्वेक्षणले यी सबै अड्कललाई खारेज गरेको छ।
‘थुप्रै किशोर यतिबेला बेलायतको कप्तानभन्दा बढी डब्लुडब्लुईका खेलाडीलाई चिन्छन्। यो अवस्थामा हामीले सुधार ल्याउनुपर्छ। यसका लागि नयाँ योजना जरुरी छ,’ डर्बीसायरका अध्यक्ष क्रिस ग्रान्टले भने। ग्रान्ट सन् २०११ देखि अध्यक्ष पदमा कार्यरत छन्।
पछिल्लो समय क्रिकेट खेललाई पछ्याउने समुहमा कटौती हुन थालेकोमा उनले चिन्ता व्यक्त गरे। यो वर्ष ९ लाख ९० हजार व्यक्तिले मात्र क्रिकेट हेरेको सर्वेक्षणले देखाएको छ। जबकी बेलायतमा क्रिकेट पछ्याउने संख्या ९४ लाखको हाराहारीमा मानिन्छ। ‘हामीले बाँकी ८५ लाखतर्फ ध्यान पुर्याउन सकेका छैनौं। यसका लागि नयाँ योजना कार्यान्वयनमा ल्याउनु जरुरी भइसकेको छ,’ ग्रान्टले थपे।