भारतीय टेस्ट कप्तान विराट कोहलीको प्रेम सम्बन्धको विषयमा सायदै कोही बेखबर होलान। उनको बलिउड अभिनेत्री प्रेमिका अनुश्का शर्मा आफ्नो आगामी चलचित्रको सुटिङ छोडेर विहिबारदेखि सुरु हुने भारत–न्युजिल्यान्ड पहिलो टेस्ट हेर्न कानपुर पुग्ने सम्भावना प्रबल रहेको छ।
भारतले कोहलीको कप्तानीमा कानपुरको ग्रीनपार्कमा ५ सय टेस्ट खेल्दैछ। यसका लागि भारतीय क्रिकेट बोर्ड(बिसीसीआई)ले थुप्रै भिभिआइपी गेष्टलाई बोलाएको छ। जसमा अनुश्का पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
तर, कानपुर प्रहरीले भने भिभिआइपीको लिस्टमा अनुश्काको नाम छ कि छैन भन्ने विषयमा केही बताएको छैन्। श्रोतका अनुसार आफ्नो प्रेमीलाई हौसला प्रदान गर्न आफ्ना केही महिला मित्रलाई लिएर अनुश्का ग्रीनपार्क पुग्ने कार्यक्रम रहेको छ।
यस विषयमा उत्तर प्रदेशको क्रिकेट संघका निर्देशक राजीव शुक्लाले ठाटो उत्तर दिएका छन्। उनले कुनै खेलाडीको मित्र अथवा श्रीमति क्रिकेट हेर्न आइरहेको छन भने आफूलाई जानकारी हुने विषय नभएको बताएका छन्। ‘अनुश्का विराटको उत्साह बढाउन आइरहेकी छिन भने उनीहरूको व्यक्तिगत कुरा हो। उत्साह बढाउन जो पनि रंगशालामा आउन सक्छन्,’ शुक्लाले भने।
कानपुर पुलिसका एसएसपी शलभ माथुरले आफूहरूलाई यस विषयमा कुनै जानकारी नभएको बताए। ‘कोही व्यक्तिगत रूपमा क्रिकेट खेल्न आउछन भने हामीलाई जानकारी हुने विषय भएन। अनुश्काले सुरक्षा माग गर्छिन भने कानपुर प्रहरी उनलाई सुरक्षा दिन तयार छ,’ एसएसपी माथुरले भने।
यस विषयमा भारतीय टिम बसोबास गर्ने होटलका व्यवस्थापक विकास मेहरोत्रालाई पत्रकारहरूले सोधपुछ गरेका थिए। उनले अनुश्का कै लागि भनेर कोठा बुक नभएको तर उत्तर प्रदेश क्रिकेट संघले होटलको १० वटा कोठा रिजर्व गरेको बताएका छन्।