चेल्सी, आर्सनल र लिभरपुल लिग कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन्।
मंगलबार राति भएको तेस्रो चरणको खेलमा चेल्सीले लिसेस्टर सिटीलाई ४–२ ले हराउँदै लिगको चौथो चरणमा स्थान बनाएको हो।
निर्धारित ९० मिनेटमा २–२ को बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा चेल्सीले थप दुई गोल गरेको थियो।
१० खेलाडीमा सीमित भएको लिसेस्टरलाई निराश बनाउने क्रमममा सेस फाब्रिगासले दुई तथा ग्यारी काहिल र इसार एपिलिक्वेटाले एक एक गोल गरेका थिए।
लिसेस्टरका शिन्जी ओकाजाकीले दुई गोल गरे। ८९ औं मिनेटमा मार्किन वासिलास्की दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिसेस्टर १० खेलाडीमा सीमित भएको थियो।
गएराति नै भएको अर्को खेलमा आर्सनलले नोटिङहम फरेस्टलाई ४–०को फराकिलो अन्तरले हराउँदै चौथो चरणमा प्रवेश गरेको छ।
आर्सनलको जितमा पेरेज मार्टिनेजले दुई तथा ग्रानिट जाका र ओक्सलेड चेम्बरलेनले एक एक गोल गरेका थिए।
लिभरपुलले डर्बीलाई ३–० ले हराउँदै तेस्रो चरणको यात्रा पुरा गरेको छ।
लिभरपुलका लागि रागनर क्लावान, फिलिपे कोउटिन्हो र डिवोक ओरिगीले एक एक गोल गरेका थिए।