सफल भारोत्तोलक सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ को विमोचन भएको छ। काठमाण्डौस्थित राष्ट्रिय खेलकुद् परिषद्मा मंगलबार ओलम्पियन जगदीश प्रधान, पुष्पराज ओझा, संगिना बैद्य, अनिता श्रेष्ठ र लेखक स्वयमले आत्मकथाको विमोचन गरे।
क्रियटिभ बुक्सले प्रकाशनमा ल्याएको ‘ओलम्पियनः सुरेन्द्र हमाल’ को सहलेखन टीएस ठकुरीले गरेका हुन्। पुस्तकको सम्पादन भने पत्रकार जनक नेपालले गरेका छन्। पुस्तकका लेखक ओलम्पियन सुरेन्द्र हमालले क्यान्सरले थलिएर निको हुने क्रममा पत्रकार र शुभेच्छुकको सल्लाहमा पुस्तक लेखेको बताए। ‘क्यान्सरले दुःख मात्र दिएन। पुस्तक समेत लेखायो।
त्यसलाई पनि मैले सफलता ठानेको छु’, विमोचन कार्यक्रममा उनले भने। हमालले आफ्नो पुस्तकले पुराना खेलाडीको खेल जीवन, दुःख सुख र संघर्षलाई उतार्न खोजेको उल्लेख गर्दै यसमा भएका सकारात्मक कुराबाट नयाँ खेलाडीले सिक्न सक्ने बताए। साहित्यकार नयनराज पाण्डेले खेलकुद् क्षेत्र पनि साहित्यमा प्रवेश गरेको उल्लेख गर्दै लेखकले आफ्नो जीवन गाथालाई फिल्मी ढंगले उतारेको बताए।
‘आत्मकथा पठ्नीय छ। जीवन संघर्षलाई राम्ररी उतारिएको छ। पढ्न बसेपछि कतै ब्रेक लाग्दैन,’ उनले भने,– कुनै बेला बलिष्ठ खेलाडी देख्दा गुण्डा वा दादा लाग्थ्यो। तर, खेलाडीभित्रको सुकोमल पक्ष, राष्ट्रिय भावना र आरोह अवरोह पुस्तकमा छ। क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले खेलकुद क्षेत्रको पहिलो आत्मकथा भएकाले आफ्नो प्रकाशन गृहले ओलम्पियनबाट आफ्नो यात्रा प्रारम्भ गरेको बताए।