पेप ग्वार्डिओलाले पछिल्लो समय म्यानचेस्टर सिटी र बार्सिलोनाबीचको खेलको आनन्द त्यतिबेला उठाएका थिए, जब उनी वायर्न म्युनिखको प्रशिक्षक हुँदा गत वर्ष दर्शकदीर्घामा बसेका थिए। च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को स्पर्धामा बार्सिलोनाका स्टार लिओनल मेसीलाई रोक्ने रणनीति सिटीका प्रशिक्षक जेम्स मिलनेरसँग नहुँदा उनी दर्शकदीर्घाबाटै मुसुमुसु हाँसिरहेका थिए। एक वर्षअघि इङ्लिस क्लब म्यानचेस्टर सिटीमाथि आफ्नो पूर्व क्लबको दबदबा देखेपछि दंग परेका तीनै ग्वार्डिओला पुनः बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्प फर्किने तयारीमा छन्। तर, यतिबेला बार्सिलोनाका प्रशिक्षक भएर होइन, म्यानचेस्टर सिटीकै प्रशिक्षक बनेर।
गत बिहिबार सार्वजनिक भएको च्याम्पियन्स लिगको ‘ड्र’ अनुसार यस वर्ष म्यानचेस्टर सिटीले बार्सिलोनासहित बोरुसिया मोन्चेनग्लादबाच र सेल्टीकसँग खेल्नु पर्नेछ। ग्वार्डिओलालाई यस सिजनमा प्रशिक्षकको भूमिकामा म्यानचेस्टर सिटीले भित्र्याएको थियो। सिटी र बार्सिलोना समुह ‘सी’मा सहभागी छन्।
सार्वजनिक ‘ड्र’ अनुसार समुह ‘ए’मा इङ्ल्यान्डको आर्सनलले फ्रान्सको पेरिस सेन्ट जर्मनी, स्विट्जरल्यान्डको बासेल र बुल्गेरियाको लुडोगोरेट्ससँग भिड्नु पर्नेछ।
समुह ‘बी’ मा पोर्चुगलको बेनिफिकाले इटालीको नेपोली, युक्रेनको डाइनाभो किभ र टर्कीको बेसिक्टाससँग भिड्दैछ। समुह ‘डी’ मा जर्मनीको वायर्न म्युनिखले स्पेनको एट्लेटिको म्याड्रिड,नेदरल्यान्ड्सको भिएसभी आइन्डहोभन र रुसको रुस्तोभसँग प्रतिस्पर्धा गर्नेछ।
समुह ‘इ’ मा रुसको सिएसका मोस्कोभाले जर्मनीको लेभरकुसेन, इङ्ल्यान्डको टोटेनहाम र फ्रान्सको मोनाकोसँग खेल्नेछ। समुह ‘एफ’ मा स्पेनको रियल म्याड्रिडले जर्मनीको डर्टमुन्ड, पोर्चुगलको स्पोर्टिङ लिस्बन, र पोल्यान्डको लेजियासँग भिड्नु पर्नेछ। समुह ‘जी’ मा पहिलो पल्ट च्याम्पियन्स लिग खेलिरहेको इङ्ल्यान्डको लेस्टर सिटीले पोर्चुगलको पोर्टो, बेल्जियमको क्लब बुर्गे र डेनमार्कको कोबेनहाभनसँग खेल्दैछ। समुह ‘एच’ मा इटालीको युभेन्ट्स, स्पेनको सेभिल, फ्रान्सको लियोन र क्रोएसियाको डिनामो जाग्रेबसँग प्रतिस्पर्धा गर्नेछ।