ओलम्पिकमा ब्राजिललाई ऐतिहासिक स्वर्ण पदक दिलाउने टिमका कप्तान नेइमारलाई कप्तान पद नछोड्न आग्रह गरिने प्रशिक्षक टिटेले बताएका छन्।
रियो ओलम्पिकमा नेइमारको उत्कृष्ट प्रदर्शनका कारण ब्राजिलले पहिलो पल्ट ओलम्पिकमा स्वर्ण जित्न सफल भएको थियो। रियो ओलम्पिक समापनसँगै नेइमारले कप्तान पदबाट राजीनामा गरेका थिए। नेइमारले ओलम्पिककै लागि भनेर साढे तीन महिना बार्सिलोना क्लबमा फर्किएका थिएनन्। उनले अन्य खेलाडीसँगको तालमेल बिग्रिन सक्ने भनेर कोपा अमेरिका कप पनि खेलेका थिएनन्।
उनको समर्पणलाई हेरेर प्रशिक्षक टिटेले राष्ट्रिय टोलीको कप्तानमा उनी अपवाद भएको बताएका छन्। त्यसैले प्रशिक्षक टिटेले स्ट्राइकर नेइमारलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन्।
नेइमारले ओलम्पिकमा ५ गोल गरेका थिए। उनले फाइनलमा निर्धारित समय र पेनाल्टीमा गरी २ गोल गरेका थिए। पाँचौ तथा अन्तिम पेनाल्टीलाई उनले गोलमा परिणत गरेपछि ब्राजिलले अहिलेसम्म ओलम्पिकमा नजितेको स्वर्ण पदकमा पहिलो पल्ट कब्जा जमाएको थियो।
टिटेले भने–‘उनले अहिले जीतको मज्जा लिने बेला हो। कप्तानी छोड्ने विषयमा पछि विचार गर्दा हुन्छ।’ टिटेले मैदानमा नेइमारले लिडर जस्तै लडेको बखान गरेका छन्। नेइमारलाई विश्वकपको छनोट खेल्न बार्सिलोना क्लबले थप छुट्टि दिएको छ।