अस्ट्रेलियाका अलराउन्डर जेम्स फकनरले ह्याट्रिक लिएपनि आफ्नो टिमलाई दोस्रो एक दिवसीय खेल जिताउन सकेनन्।
बुधबार राती श्रीलंकाविरूद्धको दोस्रो एक दिवसीयमा उनले लगातार ३ बलमा ३ विकेट लिने इतिहास बनाएपनि अस्ट्रेलियाको ८२ रनको पराजय टाल्न सकेनन्। यो नतिजापछि पाँचवटा एक दिवसीयको शृखंला १–१ को बराबरीमा पुगेको छ।
अस्ट्रेलियाले पहिलो एक दिवसीय ३ विकेटले जितेको थियो। बुधबार पहिलो ब्याटिङ गर्न आएको श्रीलंकाले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८८ रन बनाएको थियो। प्रत्युत्तरमा अस्ट्रेलियाले ४७ दशमलव २ ओभरमा २ सय ९ रन जोड्ने क्रममा सबै विकेट गुमायो।
अस्ट्रेलियाका लागि म्याथ्यु वेडले ७६ रन बनाए। कप्तान स्टिभन स्मिथले ३०, जर्ज बेलीले २७ र ट्रेविस हेडले ३१ रन बनाए। तर, अमिला अपोन्सोले १८ रन खर्चेर ४ तथा तिसारा परेराले ३३ रन खर्चिने क्रममा ३ विकेट लिएपछि अस्ट्रेलियाको स्थिति दयनीय बन्न पुगेको थियो।
श्रीलंकाको ब्याटिङलाई रोक्न २६ वर्षीय दायाँ हातका मध्यगतिका बलर फकनरले ह्याट्रिक लिएका थिए। उनी ह्याट्रिक लिने अस्ट्रेलियाका छैटौं बलर हुन्। उनले आफ्नो आठौं ओभरको अन्तिम बलमा कुसल परेरालाई एलबिडब्लुको सिकार बनाएका थिए।
नवौं ओभरको पहिलो बलमा कप्तान एन्जेलो म्याथ्युज र दोस्रो बलमा तिसारा परेरलाई आउट गरेपछि ह्याट्रिक पुरा गरे। फकनरले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिएका थिए। तीव्र बलर मिचेल स्टार्कले पनि ३, लेग स्पिनरले एडम जन्पाले पनि ३ विकेट लिए।
श्रीलंकाबाट तीन ब्याट्सम्यान कुसल मेन्डिसले ६९, कप्तान म्याथ्युजले ५७ र कुसलले ५४ ले अर्धसतक पुरा गरे। चन्डीमलले ४८ रन बनाएका थिए।