जुडो खेलाडी फुपु ल्हामु खत्रीले रियो ओलम्पिकमा नेपालको झन्डा बोक्ने भएकी छिन्। दक्षिण एसियाली खेलकुद (साग) कि स्वर्ण बिजेता फुपु रियो ओलम्पिकमा ६३ केजी तौल समूहमा उत्रिँदै छिन्।
उनले झन्डा बोक्ने औपचारिक घोषणा शनिबार अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीले गरेको हो। ‘ओलम्पिकमा देशको झन्डा बोक्न पाउनु गर्वको कुरा हो,’ २१ वर्षीया फुपुले भनिन्। उनले ६ महिनाअघि भारतको गुवाहाटी र सिलोङको संयुक्त आयोजनामा भएको १२ औं सागमा ६३ केजीतर्फ स्वर्ण जितेकी थिइन्।
उनी जुडोमा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी पनि हुन्। नेपालले सन् १९९५ को सातौं मद्रास साग गेम्समा स्वर्ण जितेयता २१ वर्षपछि फुपुले जुडोमा नेपाललाई स्वर्ण दिलाएकी थिइन्। फुपु ‘वाइल्ड कार्ड’ मार्फत ओलम्पिकमा सहभागी भएकी हुन्। उनलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले ६ महिना हंगेरीमा छात्रवृत्ति दिएको थियो।
रियो ओलम्पिकमा नेपालबाट ५ खेलका ७ खेलाडी सहभागी हुँदैछन्। नेपालले एथलेटिक्स, तेक्वान्दो, पौडी, आर्चरी र जुडो खेलमा सहभागिता जनाउदै छ। ओलम्पिकमा आर्चरी र जुडो खेलाडीले पहिलो पल्ट सहभागिता जनाउन लागेका हुन्।