आफ्नो क्लबका स्ट्राइकर डिएगो कोस्टालाई अनावश्यक पछ्याउन थालेपछि इङ्लिस क्लब चेल्सीले स्पेनको एट्लेटिको म्याड्रिडलाई कडा चेतावनी दिएको छ। कोस्टालाई सन् २०१४ मा चेल्सीले ३ करोड २० लाख पाउन्ड खर्चेर एट्लेटिकोबाट पश्चिम लन्डनमा भित्र्याएको थियो। तर, पछिल्लो केही समययता एट्लेटिकोले आफ्नो क्लबमा फर्काउन कोस्टालाई फकाउदै आइरहेको छ।
यस विषयमा चेल्सीले दुई पल्ट स्पेनीस क्लबलाई आधिकारीक जानकारी दिएर आफ्नो असन्तुष्टी जाहेर गरिसकेको छ। उसले अब पनि कोस्टामाथि अनावश्यक इच्छा जनायो भने अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)मा उजुरी गर्ने बताएको छ। कोस्टालाई पुनः क्लबमा भित्र्याउन एट्लेटिकोले ४ करोड पाउन्ड खर्चिने प्रस्ताव अघि सारेको बताइएको छ।
२७ वर्षीय कोस्टाले चेल्सीका लागि पछिल्लो २ वर्षमा ५६ गोल गरिसकेका छन्।