सन् १९७२ को म्युनिख ओलम्पिकमा भाग लिन जर्मनीतर्फ लाग्नुुअघि नेपाली म्याराथन धावक जीतबहादुर केसी निकै उत्साही थिए। यसको कारण थियो, उनी ओलम्पिक सुरु हुनु तीन महिनाअघि नै तयारीका लागि जर्मनी जाँदै थिए।
त्यो उनको पहिलो विदेश भ्रमण भने थिएन।
सन् १९७० मा थाइल्यान्डको राजधानी बैंककमा भएको छैटौं एसियाली खेलमा जीतबहादुरले देशको प्रतिनिधत्व गर्ने मौका पाइसकेका थिए। तर, त्यहाँ उनको प्रदर्शन राम्रो हुन सकेन। उनले सातौं स्थानमा रहेर दौड पूरा गरेका थिए भने श्रीलंकाका रेजा नाम गरेका धावकले २ घन्टा ३० मिनेटमा दौड पूरा गरेर सबैलाई चित ख्वाएका थिए।
राष्ट्रियस्तरको प्रतियोगितामा भने जीतबहादुरलाई पराजित गर्ने कोही निस्किएन।
इजरेली मारिएको कोठा।
त्यही भएर नै राष्ट्रिय खेलकुद परिषदका तत्कालीन सदस्य–सचिव कुमार खड्गविक्रम शाहले म्युनिख ओलम्पिकमा उनलाई पठाउने निधो गरेका रहेछन्।
कुमार खड्गविक्रम आफ्ना खेलाडीलाई व्यवस्थित अभ्यास गराएर मात्र ओलम्पिकमा उतार्न चाहन्थे। अभ्यासको तीन महिना जर्मनीमा जीतबहादुरले बडो रमाइलोसँग बिताए। खाना र पैसा केहीको मतलब थिएन। सबै चाँजोपाँजो कुमार खड्गविक्रमले मिलाइदिएका थिए। जर्मनीको आधुनिक अभ्यासले जीतबहादुरको खेलमा निकै सुधार आइसकेको थियो। तीन महिना अवधिमा उनी म्युनिखको हावापानी र माटोसँग पनि अभ्यस्त भइसकेका थिए।
ओलम्पिकअघि म्युनिखको कोलन भन्ने ठाउँमा म्याराथनको एउटा छनोट खेल भएको थियो, एसिया महाद्विपको। नेपालबाट उनीसँगै भक्तबहादुर सापकोटा पनि सहभागी थिए। भक्तबहादुर पनि तालिमका लागि जीतबहादुरसँगै म्युनिख गएका थिए।
भारत, बर्मा, श्रीलंका, इन्डोनेसिया, थाइल्यान्ड, पाकिस्तान, बंगलादेश, सिंगापुर र दक्षिण कोरियाका धावक त्यो छनोट खेलमा सहभागी थिए। श्रीलंकाबाट दौडिन रेजा म्युनिख पुगेका थिए। यतिबेला जीतबहादुरले २ घन्टा २३ मिनेटमा दौड पूरा गरे। बैंककमा रेजाले दौडिएको ‘टाइमिङ’ लाई पछाडि छाडेर उनी पहिलो भए।
यो प्रदर्शनले रेजा मात्र होइन, अन्य देशका धावक पनि जीतबहादुरसँग सशंकित भए। उनले दौड पूरा गरेको समय त्यतिबेला ओलम्पिकमा पदक जित्न पर्याप्त मानिन्थ्यो। त्यसैले होला, बिबिसीजस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ओलम्पिकको विशेष समाचार प्रस्तुत गर्दा म्याराथनमा एसिया महाद्विपले एउटा पदक जित्ने भविष्यवाणी गरेको थियो, त्यो पनि उनले कास्य जित्ने ठोकुवा गर्दै।
‘स्थानीय पत्रपत्रिकाले पनि मैले पदक जित्छु भन्ने दाबी गरेका थिए, म त दंग थिएँ,’ ७० वर्षीय यी म्याराथन धावकले सेतोपाटीसँग भने।
म्युनिख ओलम्पिक सुरु भयो, २६ अगस्टमा। त्यतिबेला नेपालबाट कुमार खड्गविक्रम, शोभा शाही, शारदाविक्रम शाह र लक्ष्मणविक्रम शाह म्युनिख पुगेका थिए। सबैलाई म्युनिखको भव्य ओलम्पिक भिलेजमा बस्ने व्यवस्था गरिएको थियो। निकै विशाल थियो, त्यो भिलेज। १२ हजार मान्छे अटाउने क्षमताको। चारैतिर कडा सुरक्षा व्यवस्था। भिलेजलाई वरिपरि ६ फिट ६ इन्च अग्लो मोटो काँडेतारले घेरिएको थियो। कोठामै सबै खानेकुराको व्यवस्था थियो। भुइँतलामा खेल्ने सुविधा पनि थियो। चौबीसै घन्टा अभ्यासमा व्यस्त रहन्थे खेलाडीहरू।
नेपाली खेलाडी बसेको ठीकअगाडिको अपार्टमेन्टमा इजरेलका ११ खेलाडी बस्थे। नेपाली टोली र इजरेली टोलीको अपार्टमेन्टलाई चार फिटको साँघुरो बाटोले छुट्याएको थियो।
खेलको तनावले होला, ओलम्पिक सुरू भएको दसौं दिन राति जीतबहादुरलाई निन्द्रा लागेन। तीन दिनपछि उनको खेल हुँदै थियो। उनी निदाउन हरसम्भव प्रयास गरिरहेका थिए। तै निन्द्रा उनको आँखामा थिएन। उनी दुई गिलास दूध पिएर ओछ्यानमा पल्टिने प्रयास मात्र के गर्दै थिए, राति १ बजेतिर कोठै उचालिने गरी विस्फोटनको ठूलो आवाजले उनी तर्से।
ड्वाङ्ग...।
एकछिनमा फेरि त्यस्तै अर्को ठूलो आवाज आयो।
‘भुइँतलामा रातभरि खेलाडीहरू अभ्यास गर्थे। त्यसैले मलाई लाग्यो, तल धेरै खेलाडी अभ्यासमा व्यस्त होलान्,’ ३४ वर्षअघिको घटना सम्झँदै जीतबहादुरले भने, ‘त्यसैले, त्यति ठूलो आवाज सुन्दा पनि मैले वास्ता गरिनँ। न आफ्नो झ्यालको पर्दा उघारेँ न त ढोकै खोल्ने आवश्यकता महसुस गरेँ।’
खेलबारे सोच्दासोच्दै कतिखेर आँखा लागेछ, उनले पत्तै पाएनन्।
बिहान ४ बजे शारदाविक्रम हतारिँदै जीतबहादुरको कोठामा पसे। उनको कुरा सुनेपछि पो जीतबहादुरको मुटु हल्लिएछ। ‘उहाँले राति पाँच जना अरेबियालीले इजरेली खेलाडी बसेको अपार्टमेन्टमा घुसेर दुई जना खेलाडीलाई मारेको र बाँकीलाई बन्दी बनाएको सुनाउनुभयो। म छानाबाट खसेझैं भएँ,’ त्यतिबेला उनले आत्तिँदै शारदाविक्रमलाई भनेछन्, ‘आवाज आएको त सुनेको हो, मैले मतलबै गरिनछु।’
उनले देखे, इजरेली खेलाडी बसेको अपार्टमेन्टको भुइँमा भारत्तोलनका एक खेलाडी र कुस्तीका प्रशिक्षक लडिरहेका थिए। कोठा रगताम्मै थियो। नौ खेलाडी बन्दी अवस्थामा थिए।
यतिबेलासम्म जर्मनीका सुरक्षा अधिकारीले पूरै ओलम्पिक भिलेजलाई घेरा हालिसकेका थिए। भिलेजमै सुरक्षाका लागि खटिएको एक जना जर्मन गार्डलाई जीतबहादुरले लगाउने गरेको पाल्पाली टोपी खुब मनपर्दो रहेछ। ऊ जहिल्यै उनीसँग त्यो टोपी माग्ने गथ्र्यो। जीतबहादुर मुखले दिन्छु त भन्थे, तर जहिल्यै उनलाई अल्मल्याइरहन्थे।
त्यो दिन ऊ पूरा एक्सनमा बन्दुक तेस्र्याएर उभिएको थियो। उसको पोजिसन देखेर जीतबहादुर झस्किएछन्। त्यसपछि बल्ल उनलाई लागेछ, बाहिर निकै गडबड छ।
प्यालेस्टेनीले ग्रिनेडले उडाएको हेलिकोप्टर।
नभन्दै केही समयपछि सबै देशका राजदूत र विशिष्ट व्यक्तिहरू विस्तारै घटनास्थलमा जम्मा भए। पछि थाहा भयो, अरेबियन भनिएका ती आतंककारी प्यालेस्टिनी रहेछन्। उनीहरूको माग थियो– इजरेलले बन्दी बनाएका दुई सय अरबीलाई तत्काल रिहा गर्नुपर्ने। जीतबहादुर बसेको ४ नम्बरको कोठा इजरेली खेलाडी बन्दी बनाएको कोठाअगाडि थियो।
पछि आतंककारीहरूको कुरा मिलेछ क्यारे, राति ९ बजे ओलम्पिक भिलेजमा एउटा हेलिकप्टर आइपुग्यो। प्यालेस्टिनी आतंककारीलाई कायरो जान लुफ्थान्सा एयरपोर्ट उपलब्ध गराउन राजी भएको रहेछ, जर्मनी सरकार। उनीहरूले बन्दी बनाएका बाँकी नौ इजरेली खेलाडीलाई पाता फर्काएर बाहिर निकाले। आतंककारीका हातमा ग्रिनेट र बन्दुक प्रस्ट देखिन्थ्यो।
उनीहरूलाई हेलिकप्टरबाट एयरपोर्ट पु¥याइयो। ‘घटनाको प्रत्यक्ष प्रसारण टेलिभिजनमा भइरहेको थियो। कोठामा भएको टेलिभिजनबाट म सबै घटना नियालिरहेको थिएँ,’ जीतबहादुरले भने।
यसैबीच आतंककारीका एक जना नाइके साथीहरूलाई बाहिर छाडेर लुफ्थान्सा एयरपोर्ट निरीक्षण गर्न गयो। ऊ फर्किएको मात्र के थियो, एयरपोर्टको बत्ती एक्कासि झ्याप्प निभ्यो। बत्ती निभेको दुई मिनेट अवधिभित्रै पर्रर गोली पड्केको अवाज सुनियो। पछि थाहा भयो, जर्मन सुरक्षा अधिकारीले सुरूमै योजना बनाएका रहेछन्, सार्पसुटरलाई एयरपोर्ट घेर्न लगाएर। यो घम्साघम्सीबीच हेलिकप्टर पनि त्यसै उड्यो।
यो पूरै काण्ड सकिन आधा घन्टा पनि लागेन।
यो घटनापछि जीतबहादुरको भने दशा सुरु भयो। घटनामा संलग्न पाँच आतंककारीमध्ये तीन जना र नौ जना इजरेली खेलाडीको शव कुकुरले भेट्टायो। दुई जना आतंककारीको अझै अत्तोपत्तो थिएन। ती दुई पुनः ओलम्पिक भिलेज फर्किएको आशंकाबीच सुरक्षा पदाधिकारीले सबैलाई तुरुन्त भिलेज खाली गर्न आग्रह गरे।
‘त्यत्रा १२ हजार मान्छे, आधा घन्टाभित्र ओलम्पिकको साँघुरो गेटबाट कसरी बाहिर निस्के होलान्?’ अहिले पनि त्यो घटना सम्झँदा छक्क पर्छन्, जीतबहादुर।
पछि दुई जनालाई पनि कुकुरले सुँघेर फेला पार्यो। ती दुवै आतंककारीलाई भिलेजमा फर्काइँदा घाइते अवस्थामा थिए। यिनीहरू फ्याट्ट नमरून् भनेर नदुख्ने दबाइ र खोले ख्वाउने गरिन्थ्यो। सुरक्षाकर्मीहरू सबै खेलाडीलाई भिलेजबाट बाहिर निस्किँदा गोलीले रगताम्मै भएका र मर्न लागेका ती दुई आतंकवादीलाई हेरेर जाओ भन्थे।
‘मेरो त कोठैनजिक। निकै असहज भयो मलाई,’ उनले भने।
यो घटनाले ओलम्पिकको खेल तीन दिन बन्द भयो। त्यसपछि कतै ड्याङ्ग... आवाज आयो कि जीतबहादुर अत्तालिहाल्थे।
घटनाको ६ दिनपछि म्याराथनको ४२.१ ९५ किलोमिटर दौडमा सहभागी भए, जीतबहादुर। २१ किलोमिटरको दौडसम्म उनी पहिलो पंक्तिमै थिए। दौडिरहेकै बेला एक्कासि कसैले उनको टाउकोमा हिर्काएजस्तो भयो। उनको खुट्टै चलेन। उनी थचक्कै भुइँमा लडे। ‘यसो हेरेको मेरो देब्रे खुट्टा ‘क्रयाम्प’ पो भएछ। उठ्ने धेरै प्रयास गरेँ तर सकिनँ,’ उनी सम्झन्छन्, ‘भुइँमा लड्दा पनि म आफ्नो कोठाअगाडि रगतमा लतपतिएको इजरेली खेलाडीलाई सम्झिरहेको थिएँ।’
अहिले पनि जीतबहादुरलाई त्यो घटना सम्झँदा रिंगटा लागेर आउँछ। त्यही घटनाका कारण ओलम्पिकमा मेडल जित्ने उनको सपना पूरा हुन सकेन। मेडल जित्न नसके पनि त्यति ठूलो घटनाबाट सकुशल देश फर्किन सफल भएकोमा उनी आफूलाई भाग्यमानी ठान्छन्।
भन्छन्, ‘मेरै कोठाको अगाडि त्यति ठूलो घटना भयो, तर मलाई गोलीको एउटा छर्रा पनि लागेन।’