ब्राजिलका स्ट्राइकर पेले, गारिन्चा, रोमारियो, रोनाल्डो, रोनाल्डिन्हो, काका र नेइमारको विषयमा धेरैले सुनेका होलान्। तर, गाब्रियल जेससको विषयमा अहिले पनि विश्व फुटबल अञ्जान नै छ ।
उनी निकट भविष्यमा ब्राजिलका स्टार खेलाडी बनेर उदाउने भविष्यवाणीका बिच अहिले विश्वकै महंगा क्लबहरू उनको अनुबन्धका लागि तँछाडमछाड गरिरहेका छन्। स्पेनको रियल म्याड्रिड मात्र होइन, इङ्ल्यान्डको म्यानचेष्टर युनाइटेड र युनाइटेड सिटीजस्ता महंगा क्लब पनि उनको अनुबन्धका लागि आँतुर देखिएको छ। यति भइसकेपछि सबैलाई आतुर लाग्नु स्वाभाविक पनि हो, आखिर को हुन्, गाब्रियल जेसस।
गाब्रियल ब्राजिलको पाल्मेरिस क्लबबाट खेल्ने गर्छन्। १९ वर्षका यी स्ट्राइकरलाई ब्राजिलमा ‘नयाँ नेइमार’ को रुपमा हेर्न थालिएको छ। केही महिनाअघि अमेरिकामा भएको कोपा अमेरिका कपमा ब्राजिलका पूर्वप्रशिक्षक डुगाले पाँचौ स्ट्राइकरको रूपमा टोलीमा स्थान दिएका थिए। तर, अमेरिकाको भिषा नलागेपछि उनी राष्ट्रिय टोलीमा सम्मिलित हुन पाएनन्।
पाल्मेरिसका यी युवा स्ट्राइकरको खेल्ने शैलीबाट सबै प्रभावित छन्। गत वर्ष न्युजिल्यान्डमा भएको युथ–२० विश्वकपको उपविजेता ब्राजिल टिममा उनी पनि सहभागी थिए। बेलायतबाट प्रकाशित ‘दि सन्डे मिरर’का अनुसार उनलाई अनुबन्ध गर्न म्यानचेष्टर सिटी र युनाइटेडले सबैभन्दा बढी चासो देखाएका छन।
उनको प्रतिभालाई बुझेर होला, पाल्मेरिसले अहिले नै उनको अनुबन्धको रकम ३ करोड ३५ लाख स्टर्लिङ पाउन्ड तोकेको छ। बार्सिलोना, रियल म्याड्रिड, वायर्न म्युनिख, पेरिस सेन्ट जर्मनजस्ता क्लबले उनको लागि २ करोड खर्चिने इच्छा जाहेर गरिसकेका छन। तर, मिररका अनुसार म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबका पदाधिकारीसँग फोनबाट कुरा गर्दै उनका लागि २ करोड ६० लाख स्टर्लिङ पाउन्ड खर्चिने इच्छा जाहेर गरेको बताएको छ। ग्वार्डिओलाको प्रस्तावसँगै उनलाई उछिनेर म्यानचेष्टर युनाइटेडले २ करोड ९० लाख स्टर्लिङ पाउन्डको प्रस्ताव अघि सारिसकेको छ।