२००७ सालअघि नै नेपाली फुटबलमा उदाएको महावीर क्लबका खेलाडीसँग नरशमशेर रातो घेरामा।
राणाकालमा खेलकुदमा सक्रिय राणाहरूको एउटा गजबको सौख थियो। खेलकुदको विभिन्न गुण सिक्न प्रायः उनीहरू बिरामीको बहाना बनाउथे। र, लाग्थे - छिमेकी भारततर्फ। बिरामीको सबैभन्दा बढी बहाना बनाउने राणाहरूमा पर्थे, नरशमशेर र मदनशमशेर राणा।
मदन विशेषत क्रिकेटका सौखिन थिए। पुल्चोकस्थित उनको श्रीदरबार त्यतिबेला क्रिकेटरहरूको अखडा नै हुने गथ्र्यो। नरशमशेर भने सबै खेलको सौखिन थिए। त्यसैले उनी त्यतिबेला नेपालमा खेलिने जम्मै खेल खेल्थे। तर, उनको बढी झुकाव भने फुटबलतर्फ थियो। १९९० सालअघि नै काठमाडौंमा फुटबल र क्रिकेटजस्ता आधुनिक खेल नभित्रिएका होइनन्।
तर, यी खेल खेल्दा बढी चोटपटक लाग्ने भन्दै तत्कालीन राणा सरकारले खेल्न कडाई गरेको थियो। उनीहरू यी खेललाई हिंस्रक भन्थे। फेरि सामूहिक रूपमा खेलिने हुँदा र दर्शकहरू बढी हुने भएका कारण सर्वसाधारणलाई यस्ता खेल खेल्न दिएको खण्डमा जनताहरू एकजुट भएर आफ्नो शासनको विरोध गर्ने डर पनि थियो, तत्कालीन राणा सरकारलाई।
त्यसैले, यी खेलहरू खेलिन्थे, राणाहरूको दरबारभित्र मात्र। यस्तैमा ९० सालताका नरशमशेर पुनः बिरामीको बहाना बनाउँदै भारतको कोलकाता छिरे। कोलकातामा त्यतिबेला फुटबलको ठूलो लहर थियो। ब्रिटिश शासकहरू बेलायतबाट टिम झिकाउँदै अभ्यास खेल खेल्थे। फेरि त्यहाँ लिग फुटबल सञ्चालनमा आइसकेको थियो।
त्यसैले, कोलकाताबाट फर्किएपछि नरको दिमागमा त्यही फुरेछ, काठमाडौंमा पनि कोलकातामाझैं लिग फुटबल किन नगराउने! नरशमशेर तत्कालीन श्री ३ महाराज जुद्धशमशेरका जेठा नाति थिए। त्यसैले, उनको रवाफ नै बेग्लै थियो, त्यसबेला। उनी जुद्धका प्रिय नाति भएका कारण पनि उनलाई कुनै काम गर्न रोकटोक थिएन्। त्यतिबेला स्थानीयस्तरमा कुनै टिम थिएन् तर उनका काकाहरूले सिंहदरबारभित्रै एउटा टिम बनाएका थिए।
यस्तै, चन्द्रशमशेरको खलकहरूले लक्ष्मी निवासमा अर्को टिम, टंगाल दरबारको आफ्नो टिम, नरशमशेरले स्थापना गरेको जावलाखेल, ठमेलमा बस्ने नरसिंह राणाहरूको नरसिंह क्याम्प र बबरशमशेरका खलकहरूको बबरमहल अस्तित्वमा देखा परिसकेको थियो। त्यतिबेला पाटन दरबारभित्र यी टिमहरू आन्तरिक रूपमा फुटबल म्याच खेल्थे।
नरशमशेरको सक्रियतापछि नेपालको पहिलो अनधिकृत लिग फुटबलको आयोजना हुने तय भयो, १९९५ सालमा। लिगका लागि पाटनस्थित टुँडिखेल (हालको राजदल)लाई उपयुक्त स्थान चयन गरियो। लिगमा जावलाखेल, भारतीय दूतावासका कर्मचारी मिश्रित ठमेल टिम, महावीरशमशेरले स्थापना गरेको डिल्लीबजारको महावीर क्लब, पाटनलगायतका टोली सहभागी थिए।
यतिबेला नरशमशेरले नै खेलको नियम बनाएका थिए। प्रत्येक म्याच एक घण्टाको हुने। ‘नेपालमा खेल्ने फुटबल पाकिस्तानको स्यालकोटबाट झिकाइने गरिन्थ्यो। रबरको ब्लाडरमा हावा हालेर बाहिर छालाले बेरेर लेस बान्नुपर्ने,’ नरशमशेरको जीवनी लेखेका ब्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी हेमन्तशमशेर राणा भन्छन्। त्यतिबेला सबै खेलाडी खाली खुट्टै मैदानमा उत्रिएका थिए।
नरशमशेरको अथक प्रयासले नेपालमा अनधिकृत लिग फुटबलको सुरुवात त भयो। तर, उनकै कारण त्यो पूरा हुन सकेन। जावलाखेल र ठमेलबीचको खेलमा यति ठूलो बबण्डर मच्चियो, आखिर उनकै हजुरबुबा श्री ३ जुद्धले लिग रोक्न आदेश दिनुपर्यो। जावलाखेलको कप्तानी गरिरहेका नरशमशेर त्यो खेलमा अनावश्यक रूपमा ठमेलका रामनारायण मिश्रसँग अल्झिन पुगे।
सत्तामा आफ्नो परिवारको दबदबाले गर्दा होला नरको बानी थियो, मैदानमा उत्रिएपछि जसरी पनि जित्नैपर्ने। उनको यही मान्यताका कारण रामनारायण र उनीबीच मैदानमै झगडा भयो। लिग खेल्न आएका अन्य टोलीका नेपाली खेलाडी त्यतिबेला नरशमशेर भनेपछि थुरथुर हुन्थे।
त्यसैले, अरू उनीसँग भिड्न जाने टाढाको कुरा, नजिकै जान पनि डराउँथे। फेरि कुस्ती खेल्ने कारण नरको शरीर गठिलो पनि थियो। रामनारायण भारतीय दूतावासका कर्मचारी थिए। त्यतिबेला दूतावासका थुप्रै कर्मचारी फुटबल खेल्न ठमेल–११ मा आवद्ध हुन्थे। अहिले भारतीय दूतावास भएको ठाउँको नाम लैनचोर हुनुमा पनि यी भारतीय खेलाडीको ठूलो हात रहेको मानिन्छ।
२००२ सालमा थापाथलीस्थित आफ्नो दरबारमा फुटबल क्लब खोलेका नेपालका पहिलो गभर्नर हिमालयशमशेर राणा भन्छन्, ‘दूतावासमा बस्ने केटाहरूलाई लैन छोकडा (केटा) भनेर बोलाउने गरिन्थ्यो। त्यही लाइनमा चौर (मैदान) पनि थियो, अहिले स्काउट भएको ठाउँमा। पछि त्यहीँ दुईटा शब्द अपभ्रंश हुँदै त्यो ठाउँको नाम लैनचोर बन्न गयो।’
रामनारायण जावलाखेलविरूद्धको खेलमा नरशमशेरसँग बल खोस्ने अभियानअन्तर्गत जुध्न गएका थिए। त्यहीँ यी दुईबीच झगडा भयो। ‘यो झगडा श्री ३ कहाँ समेत पुग्यो। त्यतिबेला सत्तामा रहेका राणाहरूको भनाइ थियो, राणाहरूले जनतासँग झगडा गर्नहुन्न। यसैकारण लिग रोकियो,’ त्यो लिगका प्रत्यक्षदर्शी हिमालय भन्छन्।
वास्तवमा नरशमशेरको लिग खेलाउने अभियानमा सुरूदेखि नै राणाहरूको एउटा समूह असन्तुष्ट थियो। उनीहरू भित्रदेखि नरले गराएको लिग फुटबलको विरोधी थिए। तर, श्री ३ जुद्धको प्रिय नातिले गरेको फुटबल प्रतियोगिताका कारण उनीहरू खुलेर विरोध गर्न सकिरहेका थिएनन्।
‘उनीहरूका लागि झगडा ठूलो बहाना बन्यो। यो घटनाका कारण राणाहरूको महलमा नरको ठूलो आलोचना भएको थियो,’ हिमालय सम्झन्छन्। श्री ३ बाटै लिग रोक्न आदेश आएपछि नेपालमा पहिलोपल्ट आयोजना गरिएको अनधिकृत लिग कुनै निर्णयबिना बीचैमा रोकियो। त्यतिबेला फुटबल प्राविधिकभन्दा पनि मुढेबलमा खेलिन्थ्यो।
प्रत्येक टोलीमा कुस्ती सिकेका ४-५ खेलाडी हुन्थे। गोलरक्षक बन्नु भनेको जोखिमको काम हुन्थ्यो। त्यसैले, लरतरो मान्छे गोलकिपर बस्न मान्दैनथे।