क्रिकेट पछ्याउने सबैका लागि लर्ड्स मैदानले ठूलो महत्व राख्ने गरेको छ। चाहे कङ्गारू होस् या किवी। टेष्ट क्रिकेटका कुनै पनि राष्ट्र लर्ड्समा उत्रिँदा मिडियाले ठूलो महत्वका साथ समाचार छाप्ने गरेका छन्।
विश्व चर्चित बेलायतको त्यही लर्ड्स मैदानमा साउन ४ गते नेपालको राष्ट्रिय क्रिकेट टोली पहिलोपल्ट उत्रिँदैछ। बेलायतसँग दौत्य सम्बन्ध गाँसिएको दुई सय वर्ष लामो पृष्ठभूमिका बीच नेपालले क्रिकेटको ‘मक्का’ मानिने लर्ड्समा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग मैत्रीपूर्ण खेल खेल्दैछ।
नेपाली कप्तान पारस खड्काले यसलाई आफ्नो सपना पूरा भएको दिनको रूपमा प्रष्ट्याइसकेका छन्। यस्तै, प्रशिक्षक जगत टमाटा लर्ड्समा नेपाली टोली उत्रिएको क्षणलाई ऐतिहासिक घटनाको रूपमा लिन्छन्।
कप्तान पारस र प्रशिक्षक टमाटाको प्रतिक्रियापछि पाठकहरूलाई कौतुहल्ता जाग्नु स्वभाविक हो, आखिर लर्ड्स मैदानमा त्यस्तो के छ? २८ हजार दर्शक क्षमता मात्र भएको यो मैदानमा उत्रिँदा इतिहास नै बन्ने?
लर्ड्सको सबैभन्दा ठूलो विशेषता भनेको यो मैदान क्रिकेट खेल्नका लागि मात्र भनेर आजभन्दा दुई सय दुई वर्षअघि स्थापना भएको हो।
अझ, यसको शोभा बनेको लर्ड्सको बाल्कोनी भिक्टोरिया युगीन हो। जुन सन् १८८९ मा विश्व प्रसिद्ध आर्किटेक्ट थोमस भेरिटीले डिजाइन गरेका हुन्।
इङ्ल्यान्डका महान कवी लर्ड बायरनले सन् १८०५ मै यो मैदानमा आफू पढेको हारो स्कुलबाट प्रतिनिधित्व गर्दै इटनविरुद्ध क्रिकेट खेलेका थिए।
सन् १९६९ मा यही मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी) स्थापनाका लागि पहिलो बैठक बसेको थियो। सन् १९७५ बाट सुरू भएको एक दिवसीय विश्वकपको लगातार तीन संस्करणको फाइनल पनि यही मैदानमा भएको थियो। सन् १९७६ मा इङ्ल्यान्ड र अष्ट्रेलियाबीच महिला क्रिकेटको पहिलो एक दिवसीय खेल पनि यहीँ भएको हो।
करको बढ्दो समस्याका कारण सन् २००५ मा युनाइटेड अरब इमिरेट्सस्थित दुबईमा नसर्नुअघिसम्म आईसीसीको मुख्यालय पनि लर्ड्समै थियो।
लर्ड्ससँगै सन् १७८७ मा जन्मिएको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले पहिले क्रिकेटको नियम बनाउने काम गथ्र्यो। सन् १७८८ मा क्रिकेटमा तीन वटा स्टम्प हुनुपर्ने, २२ गजको क्रिज, एक ओभरमा कति बल फ्याँक्न पाउने र आउटको नियम बनाएपछि मात्र क्रिकेट खेल्न सहज भएको हो। यही मैदानमा रहेको क्रिकेट संग्रहालयमा अष्ट्रेलिया र इङ्ल्यान्डबीचको पारस्परिक प्रतिद्वन्द्विता मानिने एसेसको सन् १८८२–८३ को ऐतिहासिक ‘धुलो’ पनि राखिएको छ।
लर्ड्समा अहिले पनि स्कुल, कलेज, स्थानीय र अन्तर्राष्ट्रिय गरि वर्सेनि चार सय ८० वटा खेल हुन्छन्। जसमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि हुने पिचलाई विशेष रूपले सुरक्षित राख्ने गरिन्छ।
लडर््स मैदानको सबैभन्दा रोचक पक्ष भनेको उत्तर–पश्चिमतिरको खेल्ने भाग पूर्व–दक्षिणभन्दा साढे दुई मिटर उठेको छ। त्यसैले, पवेलियन इन्डबाट बलिङ गर्दा सराहनीय रूपमा बाउन्स भएर बल स्वीङ हुँदै दायाँ हाते ब्याट्सम्यानको माथिबाट बाहिरिने गर्दछ। तर, नर्सरी इन्डबाट बलिङ गर्दा बल स्वीङ भएर ब्याट्सम्यानबाट टाढा भाग्ने गर्छ। त्यसैले, अन्य देशको क्रिकेट पिचभन्दा यसको छुट्टै विशेषता छ।
लर्ड्समा क्रिकेट हेर्न हालसम्म लाखौं व्यक्तिले सदस्यता आवेदन भरेका छन्। तर, हालसम्म १८ हजार पूर्ण र पाँच हजार आंशिक सदस्य छन्। नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष जयकुमारनाथ शाह मात्र एक्लो यस्तो व्यक्ति हुन्, जो एमसीसीको पूर्ण सदस्य हुन्। जसलाई लडर््समा क्रिकेट हेर्न एमसीसीले विशेष समारोहमा बोलाउने गरेको छ।
उनले क्लबको रातो र पहेँलो जडित कोर्ट र टाईमा सजेर सात वर्षअघि लर्ड्सको ऐतिहासिक बाल्कोनीबाट इङ्ल्यान्ड र अष्ट्रेलियाबीचको एसेस सिरिज हेरिसकेका छन्।
विश्वकै ऐतिहासिक लर्ड्स मैदानका सुत्रधार थोमस लर्डलाई मानिन्छ। जो आफै नामुद बलर थिए। उनका पिता योर्कसायरका जमिनदार थिए। तर, सन् १७ ४५ मा जर्ज द्वितीयको सत्ता पल्टाउने अभियानमा फ्रान्सबाट आएका बेलायतका पूर्व राजा जेम्स दोस्रोका नाती चाल्र्स इड्वार्ड स्टुअर्टका सेनालाई सहयोग गरेको आरोपमा उनको जमिन खोसिएको थियो। त्यही दिनदेखि यो परिवार जमिनदारबाट मजदुर बन्न पुगेको थियो।
त्यसैले, युवा अवस्थामै लर्ड रोजगारीको लागि लन्डन पुगेका थिए। आफ्नो प्रभावशाली बलिङका कारण इस्लिङ्टनमा बाजी खेल्न स्थापना भएको धनाढ्यहरूको ‘वाइट कन्ड्युट क्लब’ मा उनले सहजै जागिर पाए। क्लबको बढ्दो लोकप्रियतासँगै सर्वसाधारणको सदस्यतालाई पनि क्लबले स्वीकार गर्न थालेपछि असन्तुष्ट बनेका धनाढ्यहरूले नै लर्डलाई छुट्टै क्लब खोल्न प्रेरित गरेका थिए। त्यतिबेला लर्ड मदिराको व्यापार पर्ने गर्थे, क्रिकेट पनि खेल्थे। उनको व्यावसायिक क्षमता बुझेर नै सेनाका दुई उच्च पदस्थ अधिकारी जर्ज फिन्च र चाल्र्स लेनक्सले उनीसँग यस्तो प्रस्ताव राखेका थिए– घाटा परेको पैसा हामी बेहोरौंला।
यिनीहरूकै भरोसामा लर्डले १७८७ मा डोर्सेट स्क्वायरमा सात एकड जग्गा लिजमा किनेका थिए। यसमा राम्रो आम्दानी हुने देखेपछि उनले थप दुईवटा मैदान जोडे। अहिले लर्ड्समा रहेको बीचको मैदानलाई उनले १८०९ मा खेल्न हुने बनाएका थिए।
सन् १८२५ मा आर्थिक संकटबाट गुज्रिएपछि यो मैदानलाई जोगाउन उनले त्यतिबेला बैक अफ इङ्ल्यान्डका निर्देशक विलियम वार्डसँग अनुरोध गरेका थिए। वार्ड आफैं पुराना खेलाडी थिए र प्रतिष्ठित व्यापारी पनि। त्यसैले, उनले लर्डको अनुरोधमा पाँच हजार पाण्डमा यो मैदान किनेका थिए। सन् १९३० मा भारतमा ईस्ट इन्डिया कम्पनीमा घोटाला हुँदा ड्युक अफ विलिङ्टनले छानवीन कमिटीको संयोजक बनाएका वार्डले त्यो मैदान लर्डको अनुरोधमा त किने। तर, उनी र उनका परिवारले मैदानको नाम थोमस लर्डको थरबाट लर्ड्समा परिवर्तन हुँदा सहर्ष स्वीकारे।