पोखरामा जारी सफल कप फुटबल प्रतियोगितामा भाग लिन आएको एन्फा यु—१६ को टिमले शनिबार सहारा एकेडेमी दोबिल्लाको अवलोकन भ्रमण गरेको छ। सहारा क्लबले सञ्चालन गरेको फुटबल एकेडेमीका बाल खेलाडी तथा क्लबका पदाधिकारीले यु—१६ का खेलाडीलाई स्वागत गरेका थिए।
यु–१६ टिमका प्रशिक्षक बालगोपाल महर्जनले सहाराका बाल खेलाडीलाई आफ्नो फुटबल जीवनबारे जानकारी दिएका थिए। …अनुशासित भई प्रशिक्षकको निर्देशनअनुसार खेल सिक्नुपर्छ,' उनले भने। त्यस अवसरमा सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यले यु–१६ टिम नेपालको भविष्यका फुटबलरहरुको टोली भएको बताए।
उनले देशभरका १७ जना बालकहरुलाई एकेडेमीमा फुटबल सिकाइरहेको जानकारी दिएका थिए। टिमका क्याप्टेन विमल घर्तीमगरले राम्रो खेलाडी बन्न प्रशिक्षकका ज्ञान र सिपलाई अनुशरण गर्नुपर्ने अनुभव सुनाएका थिए। त्यस अवसरमा क्लबका पूर्वअध्यक्ष विक्रम थकाली, उपाध्यक्ष केशव बराल लगायत पदाधिकारी तथा सदस्यहरुले सहारा एकेडेमीका बारेमा जानकारी गराएका थिए। तस्वीर : सुर्दशन रन्जित