पोर्चुगल फ्रान्समा जारी युरो कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। गएराति भएको प्रि-क्वार्टरफाइनलमा क्रोएशियालाई अतिरिक्त समयमा हराउँदै क्रिष्टियानो रोनाल्डोको टोली युरो कपको अन्तिम ८ मा प्रवेश गरेको हो।
फ्रान्सको लेन्सस्थित स्टेट बोलार्ड डेलेसिस रंगशालामा भएको खेलको ११६ औं मिनेटमा सब्सिच्युड स्ट्राइकर रिकार्डो क्वारेज्माले गोल गर्दै पोर्चुगललाई महत्वपूर्ण जित दिलाए।
क्रिष्टियानो रोनाल्डोको प्रहार क्रोएशियन किपरले क्लियर गरेपछिको रिवाउण्ड बललाई क्वारेज्माले गोललाईनबाट हेड मार्फत जाली चुमाएका थिए ।
यसअघि खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा गोल भएको हो।
खेलको अधिकांश समय क्रोएशियाले पोर्चुगललाई दवावमा राखेको थियो। अभागी ठहरिएको क्रोएशियाले खेल अवधिभर पोर्चुगलको पोष्टमा २१ पटक आक्रमण गरेको थियो भने पोर्चुगलले त्यस्तो अवसर ४ पटकमात्र पाएको थियो ।
सन् २००४ को उपबिजेता पोर्चुगल पछिल्लो चार संस्करणको युरोमा कम्तिमा सेमिफाइनलसम्म पुगेको छ।
अघिल्लो संस्करणमा सेमिफाइनलबाटै बाहिरिएको थियो पोर्चुगलले अब सेमिफाइनल प्रवेशका लागि पोल्याण्डसँग प्रतिश्पर्धा गर्नुपर्ने भएको छ।
पोल्याण्डले शनिबार साँझ सम्पन्न खेलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी शुटआउटमा पराजित गरेको हो ।