युरो २०१६ अन्तर्गत प्रिक्वाटरफाइनलको आज राति स्टेड बोलार्ट, डेलेसिमा हुने दोस्रो खेलमा क्रोएसियाले पोर्चुगलको सामना गर्दैछ। क्रोएसिया र पोर्चुगल दुवै टोलीले समूह चरणमा अपराजित रहँदै नकआउट चरणमा प्रवेश गरेका हुन्। क्रोएसियाले साबिक विजेता स्पेन, चेक टर्की जस्ता टोली रहेको समूह डी बाट विजेता बन्दै नकआउट चरणमा छानिएको हो।
यता समूह एफ बाट सहजै नकआउट चरणमा पुग्ने अनुमान गरिएको पोर्चुगललाई अन्तिम १६ मा पुग्न निकै संघर्ष गर्नुपर्यो। युरो २०१६ मा पोर्चुगल मात्र एउटा यस्तो टोली हो, जो समूह चरणको तीन वटै खेल बराबरी गर्दै नकआउट चरणमा छानिएको हो।
समूहको अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि तीन पटक पछि परेको स्थिति उल्टाउँलै पोर्चुगलले हंगेरीसँग ३–३ गोलको बराबरी खेलेको थियो। उक्त बरबारीनै उसका लागि उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनायो।
अहिलेसम्मको हरेक सहभागितामा क्वाटरफाइनसम्म पुगेको पोर्चुगल सन् २००४ मा घरेलु मैदानमा उपविजेता बनेको थियो।
यता समूह चरणमा शानदार प्रदर्शन गर्दै अघि बढेको क्रोएसियालाई कमजोर आँक्न भने मिल्दैन। सन् १९९६ को पहिलो सहभागितामा युरोको क्वाटरफाइनलसम्म पुगेको क्रोएसिया त्यसको दुई वर्षपछि विश्वकपमा तेस्रो हुँदै सनसनी मच्चाएको थियो। युरो कपमा भने क्रोएसिया क्वाटरफाइनलबाट माथि उठ्न सकेको छैन।
हेड टु हेड
इतिहास भने पोर्चुगलको पक्षमा छ। यी दुई टोलीबीच अहिलेसम्म भएका तीन वटा खेलमा पोर्चुगलले जितेको छ। तीन वटै खेलमा पोर्चुगलले कुनै गोल नखाई खेल जितेको थियो।
सन् १९९६ को युरो समूह चरण खेलमा पोर्चुगलले क्रोएसियालाई ३–० ले पराजित गरेको थियो। यस्तै पछिल्लो पटक सन् २०१३ मा पोर्चुगल विजयी भएको थियो।
हेर्नलायक खेलाडी :
लुका मोडरिच- क्रोएसिया, क्रिस्टियानो रोनाल्डो- पोर्चुगल