एएफसी उन्नाइस वर्षमुनिको छनोट फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।
कतारस्थित दोहाको अल अरबी रगङ्शालामा आज साँझ सम्पन्न खेलमा नेपाल उज्वेकिस्तानसँग ५–० गोलको लज्जास्पद हार बेहार्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
यस्तै यसअघि भएको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग १–२ गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग शून्यका विरुद्ध एक गोल (०–१) अन्तरले पराजित भएको थियो ।
उज्वेकिस्तानको जितमा नोरममुरदोभ नाजमिदेनले खेलको १४ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले भने अर्का खेलाडीले खेलको ३५ आँै मिनेटमा एक गोल थपे ।
यसैगरी उज्वेकिस्तानका अर्का खेलाडी सोमुरोदोभले ह्याट्रिक पूरा गर्दै उज्वेकिस्तानलाई ५–० को सहज जित दिलाए ।
खेलको दोस्रो हाफको ४७ औँ मिनेटपछि नेपाल १० खेलाडीमा सीमित भएको थियो । नेपालको खेलाडी विश्वास श्रेष्ठले गल्ती गरेपछि रेफ्रीले श्रेष्ठलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाएका थिए ।
एसियाका ४० राष्ट्रले भाग लिएको सो प्रतियोगितालाई १० समूहमा विभाजन गरिएको छ जसमा प्रत्येक समूहको विजेता, आयोजक र उपविजेतामध्ये उत्कृष्ट घोषित हुने ६ राष्ट्रले आगामी वर्ष २०१४ मा म्यान्मामा हुने फाइनल खेलमा सहभागिता जनाउनेछन् । रासस
तस्विर सौजन्य: गोलनेपाल