पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि झापामा पहिलोपटक आयोजना गर्न लागिएको प्रथम सताक्षी गोल्डकपको तयारी पूरा भएको छ। झिलझिलेको खेलमैदानमा शनिबार सुरूहुने अन्तर्राष्ट्रिय आमन्त्रण सताक्षी गोल्डकप झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक सतासीधाम स्पोटिङ क्लबले जनाएको छ।
दिउँसो २ बजे सुरू हुने प्रतियोगिताको उद्घाटन खेल भारतको कन्चनजंघा फुटबल क्लब र आयोजक सतासीधामबीच हुनेछ। आयोजकको नेतृत्व स्थानीयबासी समेत रहेका फुटबलमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अनन्त तामाङले गर्दैछन्। तामाङले झिलझिले खेलमैदानबाटै फुटबल यात्रा सुरू गरेका थिए।
शनिबार हुने खेलमा पनि उनी मेन डिफेन्सको भूमिकामा रहनेछन्। झिलझिलेको खेलमैदानमा पहिलोपटक उत्रिने मनाङ मस्र्याङदीका कमल श्रेष्ठले राइट डिफेन्सको जिम्मेवारी पाउनेछन्। थ्री स्टार क्लबका गोलकिपर विशाल श्रेष्ठ पनि छन् आयोजक टिममा।
थ्री स्टारकै विक्रम लामा, मनाङ मस्र्याङदीका विशाल राई , एपिएफका अन्जन बिष्ट र झापा ११ का खेलाडीद्वय गणेश खड्का र योगेश गुरुङ पनि मैदानमा उत्रँदैछन्।
यता कन्चनजंघा फुटबल क्लब दार्जिलिङले पनि आयोजकलाई हराउन भारतका विभिन्न ठाउँबाट खेलाडी संकलन गरेर नेपाल ल्याउने भएको छ। भुटान ११ का चर्चित खेलाडी अमिर लामा, भुटानकै राष्ट्रिय खेलाडी निवास राना, भारतका कर्ण थापा, अनमोल दाहाल, इन्द्रजीत क्षेत्री मैदानमा उत्रँदैछन ।
नेपालका तीन विभागीय त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपिएफसहित रुपन्देही ११ , झापा ११, मोरङ–११ र आयोजकले प्रतियोगितामा सहभागी जनाउने आयोजक समितिका अध्यक्ष रमेश लावतीले बताए। प्रतियोगिताका बिजेताले नगद ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।