आफैं संलग्न भएर गराइएको निर्वाचनको छानविन आफैंले गर्ने सिफारिससहित छानविन कमिटी गठन गरेको नौलो घटना पहिलोपल्ट पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा देखिएको छ।
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रबिन नगरकोटी, मोरङ जिल्ला खेलकुद विकास समितिका सदस्य भूवन खतिवडा र क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय सचिव टेकप्रसाद कट्टेल निर्वाचन अधिकृत बसेर २०७२ साल चैत्र २० गते मोरङ जिल्ला टेबल टेनिस संघको साधारणसभा सम्पन्न भएको थियो ।
उक्त साधारण सभाले रोशनकुमार दत्तको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी गठन गरेको थियो। २९ सदस्यीय साधारणसभामा २५ जनाले भाग लिएका थिए। जसमा अध्यक्षका अर्का प्रत्यासी बिकेन थापा २ मतले पराजित भएका थिए। तर उनले निर्वाचन सम्पन्न भएको दुई दिनपछि निर्वाचन धाँधलीपूर्ण भएको भन्दै जिल्ला खेलकुद विकास समितिमा उजुरी दिएका थिए।
लोकतान्त्रिक विधिअनुसार भएको निर्वाचन र स्वयं आफै उपस्थित भएर आफ्नै रोहवरमा गराइएको निर्वाचनको विपक्षमा गएर जिल्ला खेलकुद विकास समितिले २ सदस्यीय छानवीन कमिटी गठन गरेको छ। जिल्ला खेलकुद विकास समितिको गैरजिम्मेवारपूर्ण रबैया देखेर अहिले रंगशाला वरिपरि हाँसोको माहोल सिर्जना भएको छ।
एक पूर्व खेलाडीले भने, ‘खेलकुदमा यति लाजलाग्दो घटना अहिलेसम्म भएको छैन। निर्वाचन पनि आफैं गराउने र छानविन कमिटी पनि आफैं गठन गर्ने?’
अध्यक्ष पदबाट पराजय भोगेपछि उजुरी हाल्दै हिँडेका बिकेन थापाको कार्यशैलीप्रति निर्वाचनमा भाग लिएका २५ सदस्यीय साधारणसभाका सदस्यमध्ये १७ जनाले असन्तुष्टि जाहेर गरिसकेका छन्। तर खेलकुद स्रोतका अनुसार आफैंले निर्वाचन गराएको क्षेत्रीय खेलकुद विकास समितिका पदाधिकारी भने आफैंविरुद्ध छानविन कमिटी गठन गर्दै हिँडेका जिल्ला खेलकुद संघका पदाधिकारीसँग स्पष्टिकरण लिने आँट पनि देखाउन सकिरहेका छैनन्।