एएफसी १९ वर्षमुनिको छनोट फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
कतारस्थित दोहाको अल अरबी रङ्गशालामा गए राति भएको सो प्रतियोगितामा नेपाल भारतसँग शून्यको विरुद्ध एक गोल (०–१) अन्तरले पराजित हुँदै अघिल्लो चरणमा प्रवेशका लागि सम्भावना कम भएको छ । नेपालले खेलको दोस्रो ‘हाफ’को अन्तिम समय तीन मिनेटलाई रोक्न नसक्दा अघिल्लो चरणमा प्रवेशका लागि लगभग ढोका बन्द हुन पुगेको छ । नेपाल यसअघि भएको पहिलो खेलमा तुर्कमेनिस्तानसँग १–२ गोलअन्तरले पराजित भएको थियो ।
भारतको जितका लागि खेलको दोस्रो ‘हाफ’को ८७ औँ मिनेटमा फैजएस केले गोल गरेका थिए । उनले ‘डिबक्स एरिया’बाट प्रहार गरेको बल नेपालका खेलाडी एलन न्यौपानेको खुट्टामा लागेर गोलमा परिणत भएको थियो । एसियाका ४० राष्ट्रले भाग लिएको सो प्रतियोगितालाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता, आयोजक र उपविजेतामध्ये उत्कृष्ट घोषित हुने छ राष्ट्रले आगामी २०१४ मा म्यानमामा हुने अन्तिम खेलमा सहभागिता जनाउने छन् । रासस