तस्वीर साैजन्य : एन्फा
नवयुग श्रेष्ठको ह्याट्रिकको मदतमा नेपाल साग पुरुष फुटबलको फाइनल प्रवेश गरेको छ।
भारतमा जारी १२ दक्षिण एशियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलको शनिवार गुवाहाटीमा भएको खेलमा १० खेलाडीमा सीमित नेपालले माल्दिभ्सलाई ४–३ गोल अन्तरले पराजित गर्दै १७ वर्ष पछि फाइनल पुगेको हो।
नेपालले अब उपाधिका लागि फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरित्त समयमा धकेलिएको थियो। खेलको १५ औँ मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए। खेलको ३६ औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए।
पहिलो हाफमा २–० ले अग्रता लिएको नेपालका ६५ औँ मिनेटमा कोमल श्रेष्ठ दोहोरो पहेंलो कार्ड खाँदै मैदान छोडेका थिए। १० खेलाडीमा सीमित भएको नेपालविरुद्ध खेलको ५१ औँ मिनेटमा महोम्मद हाम्जा र ८५ औँ मिनेटमा नाशिदले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि थपिएको ३० मिनेटको खेलको सुरुमै माल्दिभ्सले अग्रता लिएको थियो। ११५ औँ मिनेटमा हसनले गोल गर्दै माल्दिभ्सलाईै अग्रता दिलाएपनि अग्रता धेरैबेर टिकेन। नेपालका लागि खेलको १२० औँ मिनेटमा गोल व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै नवयुग श्रेष्ठले खेल फेरि बराबरीमा ल्याए।
खेलको इन्जुरी समयमा अर्को गोल थप्दै नवयुगले ह्याट्रिक पूरा गरेपछि नेपाल माल्दिभ्समाथि ४–३ गोल अन्तरको जित निकाल्न सफल भएको हो।
नेपालले अब फाइनलमा चिरप्रतिद्वन्द्वी भारतको सामना गर्नेछ।