जापानले सन् २०२० को ओलम्पिकमा समावेश गर्ने लक्ष्यसहित बेसबल खेलको प्रबर्द्धनलाई तिब्रता दिएको छ।
कम्तिमा एक सय देशमा प्रबर्द्धन गरेर ओलम्पिकमा समावेश गर्न भन्दै जापानले नेपालमा पनि बेसबलको प्रबर्द्धन सुरु गरेको छ। बेसबलको प्रबर्द्धनका लागि जापानको जुनियर बेसबल लिगका ५ जना खेलाडी नेपाल आएका छन्।
उनीहरुले जापानकै क्लब लालीगुराँस तथा नेपाल बेसबल महासंघको समन्वयमा काठमाडौ उपत्यकाका विभिन्न १७ वटा विद्यालयमा बेसबलको कक्षा संचालन गरेका छन्। कक्षा संचालनका क्रममा विद्यालयहरुलाई बेसबल खेलका लागि आवश्यक बल, ब्याट, ग्लोब्स् लगायतका सामाग्री पनि दिइएको छ।
प्रबर्द्धनात्मक कक्षा ९ दिनसम्म संचालन हुने महासंघका सदस्य रोशन थापाले जनाएका छन्। नेपालमा १८ वर्ष पहिले बेसबल खेलको सुरुवात भएपनि निकै महङ्गो भएका कारण बेसबल खेलाडीको संख्या एक सय भन्दा माथि छैन। नेपालमा हाल काठमाडौ उपत्यकाका अतिरिक्त पोखरामा बेसबल खेल खेलिंदै आएको छ।