मैदानमा आँखा गाडेर बसेका दर्शकको सास थामिएको थियो। यस्तो लाग्दैथ्यो, मानौं कुनै तान्त्रिकले मन्त्र फुकेर सबैलाई ढुंगा बनाइदिए।
मन्त्र त फुकेकै हो, तर तान्त्रिकले हैन, बंगबन्धु गोल्डकप फाइनलमा बहराइनविरुद्ध ओर्लिएका नेपाली राष्ट्रिय फुटबल खेलाडीले।
खेल सुरु भएको चार मिनेटमात्र भएको थियो। दर्शकको आकाश छेड्ने हुटिङबीच विपक्षी गोलपोस्ट नजिकैबाट कप्तान विराज महर्जनले क्रस दिए। आकाशको चिलले भुइँको चल्ला छोपेजस्तो अञ्जन बिष्टले उफ्रेर हेड मात्र के गरेका थिए, माघको ठन्डीमा पनि पसिनाले लुछुप्पै भिज्ने गरी चिच्याइरहेका दर्शकको मुटु घाँटीसम्मै आइपुग्यो।
सबैका आँखा तन्किएका तन्कियै भए।
अञ्जनको हेडलाई बहराइनका गोलकिपर महबुब अल्डोसेरीले ‘पन्च’ हानेर जसै हुत्याइदिए, सास थामिएका दर्शकको मुखबाट लामो सुस्केरा निस्क्यो।
उत्साह र उत्तेजनाले चम्किएका आँखाका नूर गिरे।
तर, त्यहीँ थिए विमल घर्ती मगर।
गोलकिपरको पन्जामा परेर चुकेको अञ्जनको प्रयासलाई फेरि अर्को मौका दिन विमलले आधा सेकेन्ड पनि बिराएनन्। गोलपोस्टबाट हुत्तिएर आएको बल विमलको ‘किक’ मा गोलपोस्टतिरै फर्कियो।
अनि त, यस्तो माहोल बन्यो, मानौं घिटिघिटी हुँदै सास बन्द भएको बिरामीलाई डाक्टरले छातीमा मेसिन लगाएर नयाँ जीवन दिए। रंगशालामा एकैचोटि आकाशै च्यात्ने उत्तेजनाको लहर दौडियो। ‘नेपाल... नेपाल...’ को ध्वनीले रंगशाला नै उचालियो।
त्यो बंगबन्धु फाइनलमा बहराइनविरुद्ध नेपालको पहिलो गोल थियो।
९० मिनेटको निर्धारित समय सकिनु केही बेरअघि रंगशाला फेरि उसैगरी उचालियो।
परैबाट बल नचाउँदै गोलपोस्टतिर बढिरहेका थिए, अञ्जन। उनको रफ्तारले नै दर्शकलाई औंलाका नङ टोक्न बाध्य पारिसकेको थियो। पोस्टनिर बाटो छेक्न आइपुगेका विपक्षी रक्षकको पर्खाल छल्दै अञ्जनले सुन्दर पास निकाले। खेलको अन्तिम मिनेटमा आइपुगेको यो सुनौलो अवसर छोप्न स्ट्राइकर विशाल राईले कुनै कसर छाडेनन्।
बर्खामा गर्जेको बादलझैं गड्गडाएका दर्शकले रंगशाला फेरि उचाले।
यो नेपालको दोस्रो गोल थियो।
यी दुई र इन्जुरी समयमा नवयुग श्रेष्ठबाट भएको तेस्रो गोलसँगै नेपाली राष्ट्रिय टोली २३ वर्षपछि अन्तर्राष्ट्रिय च्याम्पियनसिपको कप उठाउन सफल भयो।
निर्णायक अन्तिम गोललाई पनि अञ्जनले निकालेको सुन्दर पासकै नतिजा भन्दा फरक पर्दैन। उनले मैदानको मध्यभागमा विपक्षी खेलाडीको गोडाबाट बल खोसेर आफ्नो पासोमा पारे। र, फुर्तिका साथ छलाउँदै स्ट्राइकर विमलको गोडासम्म पुर्याइदिए। घर बनाउने कर्मीहरूले फुत्तफुत्त इँटा हुत्याएझैं मैदानमा खेलाडीहरूको साङ्लो कमालको रह्यो। अञ्जनबाट पाएको बललाई एक सेकेन्ड नबिराई विमलले साइडबाट किक हानेर नवयुगलाई पास दिए। नवयुगले आँखाको एक झिमिकमै उक्त पासलाई हेड गरी गोलमा परिणत गरिसकेका थिए।
सनसनीपूर्ण खेलमा ऐतिहासिक जित दिलाएका राष्ट्रिय टोलीले हुन त सारा नेपालीको मुहारमा मुस्कानको लहर दौडायो, तर अञ्जन बिष्टको परिवारका लागि यो सफलता अझ खास बन्यो।
यसको कारण दुई गोलको सुन्दर अवसर निकालेर अञ्जनले पाएको वाहवाही मात्र होइन, देशलाई लामो समयपछि अन्तर्राष्ट्रिय उपाधिको हकदार बनाएको यो प्रतियोगिता क्रममा अञ्जनसहित उनका सहोदर भाइ रञ्जन पनि मैदानमा थिए।
सशस्त्र प्रहरी क्लब तर्फबाट राष्ट्रिय टोलीमा आबद्ध र बंगबन्धु गोल्डकप उचाल्ने विजेता टोलीमध्येका अञ्जन र रञ्जन सहोदर दाजुभाइ हुन्, जसले हेटौंडाका गल्लीमा थोत्रो बल खेलाउँदै राष्ट्रिय टोलीसम्मको संघर्षपूर्ण यात्रा तय गरे।
ऐतिहासिक सफलताको घडीमा एकाघरका दाजुभाइ नै हिस्सेदार हुनु बिष्ट परिवारका लागि सबभन्दा खुसीको क्षण बनेको थियो।
‘छरछिमेक र इष्टमित्र सप्पैले बधाइ दिइरहेका छन्,’ आमा अञ्जनाले भनिन्, ‘सप्पै जना रञ्जन र अञ्जन तपाईंहरूका मात्र छोरा होइनन्, अब हाम्रो र राष्ट्रकै सम्पत्ति हुन् भनिरहेका छन्। छोराछोरीलाई जम्मैले वाहवाह भन्दा हाम्लाई त तीर्थ गएझैं खुसी भइरहेको छ।’
अञ्जन र रञ्जनबीच चार वर्षको उमेर अन्तर छ। रञ्जन जेठा हुन् भने अञ्जन कान्छा। रुचिका हिसाबले फुटबलमा रञ्जनको जति लगाव अञ्जनको होइन। दाजुको बाटो पछ्याउँदै आफू यहाँसम्म आइपुगेको उनको भनाइ छ।
‘दाइ (रञ्जन) खुब खेल्नुहुन्थ्यो, म पनि उहाँसँगै पछि लागेर खेल्न त खेल्थेँ, तर मेरो रुचि फुटबलमा भन्दा गीत–संगीतमा बढ्ता थियो,’ बंगबन्धु गोल्डकप जितेर स्वदेश फर्केपछि पाइरहेको दर्शकको मायाबीच सेतोपाटीसँग आफ्नो विगत र खेलको अनुभव बाँड्दै अञ्जनले भने।
अञ्जनको सांगीतिक लगाव कतिसम्म गहिरो थियो भने उनले हेटौंडामै ‘द एड नाइन’ ब्यान्डधरि खोलेका थिए। बिहानदेखि बेलुकीसम्म गितार बोकेर गीतमा झुम्दै हिँड्थे। नाच्न पनि सोखिन हुन् उनी। खासगरी उनको रुचि ‘बी बोइङ’ मा बढ्ता थियो। अञ्जनले भुइँमा दुई हात टेकेर खुट्टा माथि उचाल्दै टाउकोको भरमा ज्यानलाई जाँतोजस्तो फन्फन्ती घुमाउँदा हेर्नेहरूलाई ‘भुइँचालोमा पृथ्वी हल्लिएजस्तै’ हुन्थ्यो।
तर, यही बी बोइङ गर्दा उनले घरमा आमाबाको खप्की पनि खुबै सुन्नुपरेको छ। किन नपरोस्, बी बोइङकै क्रममा घरको खाट चारपटक जो भाँजेका छन् उनले।
‘खाट मात्र भाँचे त ठिकै थियो, बी बोइङको चक्करमा कुनै दिन भुइँमा टाउको टेकेर फनन्न घुम्दा घाँटी नै ठनक्क भाँच्चियो भने के गर्ने!’ उनका बुबा राजु भन्छन्, ‘अनि त्यत्रो जोखिम मोलेर नाच्दा पनि वाहवाह भन्नेहरू कतिजना होलान् र ! बरु फुटबलमा राम्रो गरेर मैदानमा आफ्नो कौशल देखाउन सक्यो भने आफ्नो र परिवारको लागि मात्र होइन, देशकै लागि गौरवको विषय हुन्छ।’
‘हाम्रो देशलाई भुइँमा टाउको नचाउनेको होइन, फुटबल मैदानमा खुट्टा नचाउनेहरूको खाँचो छ,’ उनले भने।
बुबाको यही धारणा र प्रेरणाले नै बी बोइङको स्टेज र गीत–संगीतको रमझमबाट आफूलाई फुटबल मैदानतिर डोर्याएको अञ्जन बताउँछन्।
हुन त उनले दाजुको सिको गर्दै टोलका गल्ली र घाँसेचउरमा थोत्रा फुटबललाई लात्ती हानेको सानैबाट हो। तर, परिवारबाट समेत आफू खेलाडी नै बनिदियोस् भन्ने चाहना बुझेपछि भने उनी यसमा अझ गम्भीर हुँदै गए। र, व्यावसायिक खेलाडी हुने बाटोमा खुट्टा तिखार्न थाले।
सुरुमा हेटौंडाको स्थानीय क्लबबाट खेल्न थालेका उनले एन्फामा तीन वष बसेर फुटबलको औपचारिक प्रशिक्षणसमेत लिए। तीन वर्ष एन्फाको बसाइ नै आफ्नो करिअर उकास्ने महत्वपूर्ण कडी भएको उनी बताउँछन्। त्यहाँ उनले आफूभित्र सानैमा टुसाएको र उमेरसँगै झ्यांगिदै गएको खेल कौशल निखार्ने मौका मात्र पाएनन्, मैदानमा विपक्षी खेलाडीविरुद्ध देखाउनुपर्ने विभिन्न बान्की पनि सिके।
आखिरमा त्यही भयो, जुन उनका बुबा चाहन्थे। जुन उनका दाजु चाहन्थे।
गितारमा औंला नचाउन चाहने अञ्जन मैदानमा खुट्टा नचाउने भए।
बी–बोइङ स्टेजमा टाउको घुमाउन चाहने अञ्जन फुटबल मैदानमा बल घुमाउने भए।
एन्फाको तालिम क्रममै आफूलाई बलियो सम्भावना भएको खेलाडीका रूपमा दर्ज गराउन उनी सफल भए। त्यसैको नतिजा हो, दुई वर्षअघि १६ वर्षमुनिको टिम (अन्डर–१६) मा छनौट भएर भुटानविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेले।
अन्डर–१६ टिमबाटै बहराइनविरुद्धको खेलमा निर्णायक गोल गरेर उनले आफ्नो दह्रो उपस्थिति जनाएका थिए। इराकसँगको खेल त अति नै रोमाञ्चक हुन पुगेको थियो। उक्त खेलमा मध्याह्नअघि नेपालले दुई गोल खाइसकेको थियो। दर्शकदीर्घा मात्र होइन, खेलाडी पनि चिन्तित थिए। मध्याह्नपछिको खेलमा भने पासा पल्टियो। अञ्जनले पहिलो र विमलले दोस्रो गोल ठोकेर खेल बराबरीमा टुंग्याए।
अन्डर–१६ मा उत्कृष्ट प्रदर्शन गरेपछि अञ्जनलाई प्रशिक्षक ज्याक स्टेफेनोस्कीले राष्ट्रिय टिममा बोलाए। अञ्जन हाल सशस्त्र प्रहरी क्लबमा आबद्ध छन्।
यसपालि बंगबन्धु गोल्डकप क्रममा उनले त्यस्तो बेला राम्रो प्रदर्शन देखाए, जतिबेला नेपाली टोलीलाई एउटा सफलताको कथाको व्यग्र प्रतीक्षा थियो। एन्फा अध्यक्ष गणेश थापा भ्रष्टाचार आरोपमा १० वर्ष निलम्बित हुनु, खेल मिलेमतो प्रकरण र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूमा लगातार नेपालको निराशाजनक नतिजाका कारण समग्र नेपाली फुटबलमाथि नै प्रश्न खडा भएको थियो। नेपाली फुटबलप्रेमीमा आफ्नो टिमप्रति कुनै उत्साह र आशा बाँकी थिएन।
सबभन्दा निराशा त अघिल्लो महिना भारतमा भएको साफ च्याम्पियनसिपमा बेहोर्नुप¥यो। श्रीलंकाको प्रयोगात्मक टोलीसँग पराजित भएर नेपाल समूह चरणबाटै बाहिरिएपछि फुटबलप्रेमीमा आफ्नो टिमप्रति विश्वासको एक त्यान्द्रो पनि बचेको थिएन।
यही बेला आइपुग्यो, बंगबन्धु गोल्डकपको ऐतिहासिक नतिजा, जुन नेपाली टिमका लागि मरुभूमिमा तिर्खाएर भौंतारिरहेको यात्रुलाई बालुवामुनि पानीको कुवा भेटेजस्तो भएको छ।
यो प्रतियोगिता क्रममा नेपालले श्रीलंकासँगको इख पनि मेट्यो। अघिल्लो महिनाको पराजयपछि निकै दबाबमा परेको नेपालले यसपालि सहजै श्रीलंकालाई हरायो। प्रतियोगितामा गोल गरे, उनै अञ्जनले।
उता, रञ्जन फुटबल क्षेत्रमा लाग्नुमा पनि बाबु राजुकै हौसला र प्रेरणाको हात छ।
झन्डै आठ वर्षअघि राजुले छोरा रञ्जनलाई एन्फाको अन्डर–१२ टिममा राख्न पहिलोचोटि हेटौंडाबाट काठमाडौं ल्याएका थिए। उनको इच्छा जसरी पनि रञ्जनलाई खेलाडी बनाउनु नै थियो।
त्यतिबेला एन्फाले रञ्जनलाई अन्डर–१२ मा राख्न मानेन, बरु अन्डर–१० मा स्विकार गर्यो। राजुलाई यही पनि लाख बराबर भइहाल्यो। तर, उनको यो खुसी लामो समय टिकेन। केही दिनपछि नै उचाइ नपुगेको भन्दै रञ्जनलाई घर फर्काइयो।
रञ्जन बाबुको हात समाउँदै रुँदै हेटौंडा फर्के।
पहिलो गाँसमा परेको यो ढुंगाले रञ्जनको अठोटलाई कत्ति हल्लाएन। उनी विचलित भएनन्, बरु दिनरात मिहिनेत गरिरहे। हेटौंडाका घाँसेचउरमा थोत्रा बल उफारिरहे। आफ्नो गोडा तिखारिरहे।
केही वर्षपछि उनी आफैं एन्फामा सहभागी हुन काठमाडौं आए। यसपालि पनि अन्डर–१९ को प्रारम्भिक छनौटमा त परे, तर फेरि उनलाई उचाइले नै धोका दियो।
लगातारको असफलतापछि अरू हुँदो हो त मैदानबाट भागिसक्थ्यो। रञ्जनको मनमा भने फुटबल खिल बनेर गडेको थियो। उनी आफूलाई खेलाडी बनेर मैदानमा बल नचाएकोबाहेक अरू रूपमा कल्पनै गर्न सक्थेनन्।
‘राष्ट्रिय टिममा नपरेर के भो त, म स्थानीय क्लबबाटै आफ्नो रहर पूरा गर्छु– यही सोचेर हेटौंडाको चर्चित क्लब एफसी पोतालामा आबद्ध भएँ,’ रञ्जन सम्झन्छन्, ‘त्यही क्लबबाट जिल्ला लिगसमेत खेलेँ।’
त्यसपछि उनी मकवानपुर ११ क्लबमा पनि सहभागी भए। हेटौंडाकै इन्टरनेट क्लबबाट धेरै खेल खेले। हेटौंडामा चम्किएका रञ्जनलाई सी–डिभिजन खेल्न कलंकीको नवज्योति क्लबले बोलायो। त्यसमा उनले उत्कृष्ट खेलाडीको अवार्ड हात पारे, तर क्लब माथि उक्लन सकेन।
पूर्व राष्ट्रिय खेलाडी प्रदीप महर्जन त्यसताका खुमलटार क्लबमा प्रशिक्षक थिए। उनले रञ्जनलाई बोलाएर लिग खेलाए। त्यसमा पनि उनले क्लबलाई जिताए र उत्कृष्ट अवार्ड हात पारे।
सी–डिभिजन खेल्दा कुखुराको भालेको सिउरझैं कपाल काटेर चर्चा पाएका उनलाई त्यसबेला प्रशंसकहरूले ‘रातो भाले’ भन्ने नामै दिएका थिए। उनी यो नामबाट चिनिँदा खुसी नै मान्थे।
सी–डिभिजन खेल्दै गर्दा उनी सशस्त्र प्रहरी क्लबमा आबद्ध भए। त्यहाँबाट राष्ट्रिय खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेपछि अन्डर–२३ राष्ट्रिय टिममा सहभागी भए। अन्तर्राष्ट्रिय खेलमा बंगबन्धु गोल्डकप उनको पहिलो हो। उनले बंगलादेशविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय ‘डेब्यु‘ गरेका हुन्। बंगबन्धुमा उनले माल्दिभ्सविरुद्ध पनि खेले।
‘बंगबन्धु गोल्डकपमा हामी सबै खेलाडीले निकै मिहिनेत गर्यौं, तयारी राम्रो नभए पनि हामीसँग हौसला थियो,’ रञ्जनले भने, ‘यो सफलताले हाम्रो मनोबल यति चुलिएको छ, यसले आगामी दिनमा थप सफलताको ढोका खोल्नेछ भन्ने मेरो विश्वास छ।’
बंगबन्धु गोल्डकपमा आफूहरू दाजुभाइ नै सामेल हुन पाउनुलाई पनि उनले ऐतिहासिक रूपमा लिएका छन्। त्यसमाथि खेलमा भाइ अञ्जनको चौतर्फी तारिफ हुनुले सबभन्दा खुसी रञ्जन नै छन्।
‘अञ्जनको खेललाई सबैले मन पराएका छन्, उसले राम्रो प्रदर्शन पनि गर्यो, योभन्दा बढी मलाई के चाहियो !’ उनले भने, ‘अञ्जन राम्रो सम्भावना भएको खेलाडी हो।’
‘आखिर तपाईंलाई पछ्याउँदै त भाइ यहाँसम्म आइपुगेको हो नि, हैन ?’
यो प्रश्नमा उनी लजाए। भने, ‘हामी दुवै सँगसँगै यो बाटोमा हिँडेका हौं, कहिलेकाहीँ उसले मलाई पछ्यायो होला, कहिले मैले उसलाई पछ्याएँ।’
मैदानसम्मको यात्रामा कसले कसलाई बढी पछ्यायो थाहा छैन, तर आज यी दाजुभाइलाई सबै खेलप्रेमीले पछ्याइरहेका छन्।
‘विमानस्थलमा यति धेरै स्वागत होला, हामीले यति धेरै माया पाउँलाउँ भनेर त सोचेकै थिएनौं, यो सबै हाम्रो मिहिनेतको नतिजा हो,’ उनीहरूले भने, ‘यो मायाले त हाम्रो थकाइ पनि बिर्साइदियो।’
सबभन्दा खुसी त उनीहरूका बुबा राजु छन्, जसले दिनरात छोराहरूलाई खेलाडी बनाउने सपना देखे।
र, आज उनी भनिरहेका छन्, ‘सपना पूरा गर्न गाह्रो हुन्छ, तर सपना देख्न छाड्नुहुन्न। आज मेरो सपना पूरा भयो।’
गोल्डकप बोकेर फर्किएका छोराहरूलाई हेर्दा उनलाई अहिले पनि घरिघरि त्यही घडीको सम्झना आउँछ, जब बहराइनविरुद्धको खेलमा अञ्जनले निकालेको सुन्दर पास गोलमा परिणत भएको थियो।
र, नेपालले २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको थियो।