मलेसियमा जारी एसीसी यु-१९ प्रिमियर लिग क्रिकेटमा नेपालले कुवेतलाई ८३ रनले हराएको छ।
नेपाल विरुद्ध २५१ रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित ५० ओभर खेले पनि ९ विकेट गुमाएर १६७ रन मात्र बनाएपछि नेपालले ७३ रनको जित हात पारेको हो।
नेपालका प्रेम तामाङ र सुशील कँडेलले २-२ विकेट लिए भने आरिफ शेख र दिपेन्द्र सिहं ऐरीले १-१ विकेट लिए। कुवेतका मोहम्मद मिजान अलिले अविजित ८४ रन बनाए पनि अन्य ब्याट्सम्यानले नेपाली बलर सामू टिकेर खेल्न सकेनन्।
पहिले ब्याटिङ गरेको नेपालले कुवेतलाई २५१ रनको चुनौति दिएको थियो।
खराब सुरुवात गरेको नेपालका दिपेन्द्र सिंह ऐरी र सौरभ खनालले १सय ३० रनको साझेदारी गरेपछि नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदा २५० रन बनायो।
ऐरीले ८५ र खनालले ७३ रन बनाए।
नेपालका सुरुवाती ब्याट्सम्यान सुनिल धमलाले ११ रन जोडे भने आशिष धामी ४ रनमै आउट भए। शंकर रानाले ८ रन बनाए।
आरिफ शेख र राजविर सिंह खाता नै नखोली पेवेलियन फर्किए भने प्रेम तामाङले २३ तथा कप्तान राजु रिजालले १५ रनको योगदान गरे। एक बल बाँकी छँदा मैदानमा आएका सुशील कँडेलले एक बल पनि खेल्न पाएनन्। कुवेतका मोहम्मद फौजिले सर्वाधिक ३ विकेट लिए।
नेपालले अर्को खेल बिहीबार साउदी अरबसँग खेल्ने छ।
लिगको अंक तालिकामा नेपाल तीन खेलमा जित हात पार्दै दोस्रो स्थानमा छ। लगातार ४ खेलमा जीत हात पारेको अफगानिस्तान ८ अंक सहित शिर्ष स्थानमा छ।
६ अंक नै भएको मलेसिया रनरेटमा नेपाल भन्दा पछाडि तेस्रो स्थानमा छ।
एसीसी यु-१९ प्रिमियर लिगको अंक तालिका (स्रोत: क्रिकइन्फो)