आगामी वर्ष भारतमा हुने ट्वन्टी–२० विश्वकप प्रतियोगितामा छनोटको लक्ष्यसहित डेढ महिनाअघि युरोप भ्रमणमा निस्केको नेपाली टोली अन्ततः रित्तो हातका साथ आज स्वदेश फर्केको छ।
आयरल्यान्ड र उत्तरी आयरल्यान्डमा भएको छनोट प्रतियोगितामा अमेरिकालाई हराएर राम्रो सुरुआत गरेको नेपाल त्यपछिका सबै चार खेलमा हार बेहोर्दै प्रतियोगितामा सहभागी १४ टोलीमध्ये १३ औंँ भएको थियो । प्रतियोगितामा नेपालले खेलेको पाँच खेलमध्ये चार वटामा एक सयभन्दा बढी रन बनाउनसमेत सकेको थिएन।
विश्व ट्वन्टी–२० छनोटमा नमिठो पराजय भोगेर छनोट हुन नसकेको नेपाली टोली त्ययहाँबाट स्कटल्यान्डसँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको छनोट प्रतियोगिता खेल्न स्कटल्यान्ड पुगेको थियो । त्यहाँ पनि नेपाल दुवै खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो । वर्षाले प्रभावित दुवै खेलमध्ये पहिलोमा नेपाल तीन रनले तथा दोस्रोमा नौ विकेटले पराजित भएको थियो।
युरोप भ्रमणको निराशजनक यात्रापछि आज स्वदेश फर्किएको नेपाली टोलीका कप्तान पारस खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै छनोट प्रतियोगितामा आफूहरूले खेल्न नसकेको स्वीकार गरे।
नेपाली टोलीले यति कमजोर प्रदर्शन कहिल्यै नगरेको बताउँदै आफूहरूले बनाएको योजना सबै असफल भएको उनले जनाए। “प्रतियोगितामा कुनै एक दुई खेलाडी मात्र होइन, सिङ्गो टिम नै असफल भयो”, उजले भने।
इङ्ल्यान्डमा चार अभ्यास खेल खेल्दै नेपालले प्रतियोगिताको तयारी गरेको थियो । त्यसपछि नेदरल्यान्ड्समा गएर ट्वन्टी–२० अन्तर्राष्ट्रिय चार खेल खेलेको थियो। त्यहाँ पनि नेपाल ३–१ ले पराजित भएको थियो । त्यससँगै नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को विश्व वरियतामा प्रवेश गरेको थियो तर आयरल्यान्डमा विश्वकपमा छनोट हुन नसकेपछि नेपाल बरियताबाटसमेत बाहिरिएको छ।
विश्वकप छनोटको उपाधि जित्ने लक्ष्यका साथ आयरल्यान्ड गएको नेपाल टी –२० विश्वकपसँगै टी –२० मान्यता गुमाएर फर्किएको छ । रासस