पाराग्वेलाई ६-१ले हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
चिलीमा जारी प्रतियोगितामा बुधबार बिहान इस्टर रोआ रंगशालाम भएको दोस्रो सेमिफमाइनलमा पाराग्वेमाथि गोल वर्षा गर्दै अर्जेन्टिना कोपा अमेरिकाको उपाधि नजिक पुगेको हो।
अर्जेन्टिनाका लागि खेलको १५ औं मिनेटमा डिफेन्डर मार्कोस रोजोले लियोनेल मेस्सीको पासमा गोलको खाता खोले।
यस्तै खेलको २७ औं मिनेटमा पुन: मेस्सीकै पासमा जाभियर पास्टेरोले टिमको लागि दोस्रो गोल गरे।
पहिलो हाफको अन्त्यतिर पाराग्वेका लुकास बारियोसले ब्रुनो भाल्डेजको पासमा गोल फर्काए।
दोस्रो हाफमा झनै आक्रमक बनेको अर्जेन्टिनाले दोस्रो हाफको दोसरो मिनेटमा जाभियर पास्टेरोको पासमा एन्जेल डि मारियाले गोल थपे। यस्तै खेलको ५३ औं मिनेटमा पुन: डि मारियाले नै अर्को गोल गर्दै खेललार्इ ४-१ को अवस्थामा पुर्याए।
खेलको ८० औं मिनेटमा डि मारियाका सटिक पासमा अग्वेरोले हेडगोल गरे। यस्तै ८१ औं मिनेटमा मैदान छिरेका हिगुइनले ८३ औं मिनेटमा गोल गरे। उनले पनि लियोनेल मेस्सीकै पासमा गोल गरेका हुन्।
सन् १९९३ यता ठूलो उपाधि जित्न नसकेको अर्जेन्टिनाले आगामी शनिबार आयोजक चिलीसँग उपाधिका लागि भिड्नेछ।