१३ वर्षे नेपाली बालकले युरोपको विश्व विख्यात फुटबल क्लब मेन्चेष्टर युनाइटेडबाट फुटबल प्रशिक्षण लिने भएका छन्।
चर्चित हेयर स्टाइलिस्ट निल डेभिड कटुवालका छोरा डेनियल डेभिड कटुवालले मेन्चेष्टर युनाइटेड लण्डन पुगेर फुटबल तालिम लिन लागेका हुन्।
८ दिनको छोटो तर कडा प्रशिक्षण (मेनचेष्टर समर क्याम्प) लिन उनी बुधबार लण्डन जाँदैछन्। क्याम्पमा प्रवेश पाएपछि डेनियलले आठै दिन क्याम्पमा बसेर कडा प्रशिक्षण लिनुपर्नेछ।
झापा घैलाडुब्बा–९ लक्ष्मीपुर (हाल कनकाई नगरपालिका ९) का डेनियलले गत वर्ष २०१४ मा थाइल्याण्ड पुगेरसमेत फुटबलको प्रशिक्षण लिएका थिए।
डेनियलले थाइल्याण्डको बैंकक पुगी त्यहाँस्थित प्रिमियर एकेडेमीमा २ महिना लामो फुटबल प्रशिक्षण लिएर आफूलाई निखारेका थिए।
उनलाई स्कटल्याण्डका कोच केभिनले प्रशिक्षण दिएका थिए। उनी बैंककमै भएको क्रिसमस ट्रफी प्रतियोगितामा समेत सहभागी भएका थिए। प्रतियोगितामा डेनियलले उत्कृष्ट खेल प्रदर्शन गरेर केभिनको मन जितेका थिए।
केभिनले उनको खेलको प्रशंसा गरेका थिए। डेनियल हाल भने फुटबलर राजु शाक्यबाट नेशनल फुटबल एकेडेमी बानेश्वरमा प्रशिक्षण लिईरहेका छन्।
कक्षा ३ सम्म झापाकै बिर्तामोडस्थित लिटील फ्लावर्स स्कुलमा अध्ययन गरेका डेनियलले त्यसपछि भारतको कालेबुङस्थित डाक्टर ग्राम होम्समा कक्षा–७ सम्म अध्ययन गरेका थिए। उनी हाल राजधानीमा बसेर ताहचलस्थित रुपिज इन्टरनेशनल स्कुलमा कक्षा आठमा अध्ययन गरिरहेका छन्।
‘फुटबल मेरो लाइफकै सबैभन्दा ठूलो सपना हो। म भविष्यमा फुटबलमै करियर बनाउन चाहन्छु। त्यसका लागि अहिलेदेखि नै अभ्यास गरिरहेको छु। जस्तोसुकै कडा परिश्रम गरेर भए पनि फुटबलमा इतिहास रचेर देशको नामलाई उचो राख्नेछु’, डेनियलले भने।
तिक्ष्ण दिमागका डेनियल फुटबलसँगै अध्ययनमा पनि अब्बल छन्। उनी विद्यालयमा हुने फुटबल खेलका मिड स्टाइकरको रूपमा स्थापित हुँदै आएका छन्। सानैदेखि फुटबल खेलमा रुची राख्ने डेनियल गाउँमा रहँदा झुम्राको गोल बनाएर फुटबलमा रमाउँथे।
‘मेरो बाबाले सानो पेशा मानिएको हेयर स्टाइलिस्टलाई रोजेर नेपालमा क्रान्ति ल्याउनु भयो। म पनि उत्कृष्ट फुटबल खेलाडी भएर नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रयास गर्नेछु’, उनले भने।
फुटबलप्रतिको छोराको क्रेजलाई देखेर उनका पिता निल डेभिडले कुनै कसर बाँकी नराख्ने बताए। ‘म फुटबलको फ्यान होइन र फुटबलमा रुचि पनि छैन। हरेक बच्चामा भगवानले एउटा कुनै न कुनै प्रतिभा दिएको हुन्छ। जसलाई अभिभावकले बुझ्न सक्नुपर्छ। डेनियल फुटबलमा यति ट्यालेन्ट छ भन्ने मलाई थाहा पनि थिएन। उसको खेल हेरेर साथीहरुले प्रशंसा गरेपछि बल्ल मैले पनि डेनियलको खेल हेरेँ। साँच्चै नै उसको खेल तारिफयोग्य देखेपछि फुटबल खेलेर उत्कृष्ट खेलाडी हुने सपना पूरा गर्न लागि परेको छु। मेरो तर्फबाट पूर्णतया सहयोग र प्रेरणा दिएको छु। अब यहाँहरुको हौसला र प्रेरणा पाए साँच्चै नै नेपालले उसलाई एउटा राम्रो फुटबलरको रुपमा पाउनेछ भन्नेमा म विश्वस्त छु,’ निल डेभिडका अनुसार डेनियलले आगामी डिसेम्बर महिनामा इटालीको एक विश्व विख्यात फुटबल एकेडेमीबाट पनि फुटबल प्रशिक्षण लिनेछन्।