जितपछि नेपाली खेलाडीहरू। तस्विरःशरन केसी . @updateurself
ट्वान्टी-२० विश्वकपको तयारीको लागि बेलायत पुगेको नेपाली क्रिकेट टोलीले शुक्रबार फ्री फोरस्टेर्स क्लबलाई २५ रनले हराएको छ।
बेलायतको टनब्रिज वेल्सस्थित नेभिल मैदानमा भएको दोस्रो अभ्यास खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १५८ रन बनाएको थियो।
नेपालका लागि कप्तान पारस खड्काले ४२ रनको सर्वाधिक पारी खेले। यस्तै सागर पुन ३६, प्रदिप ऐरी २७, शरद भेसवाकर १३, बसन्त रेग्मी नटआउट १०,ज्ञानेन्द्र मल्ल ५, सुवास खकुरेल २ र सोमपाल कामीले १ रन बनाए।
१५९ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको फ्री फोरस्टेर्स क्लब १९.५ ओभरमा अल आउट हुँदै १३४ रनमा समेटियो।
फ्री फोरस्टेर्सलाई हराउने क्रममा नेपालका सागर पुन, सोमपाल कामी र शक्ति गौचनले २-२ तथा जितेन्द्र मखिया र बसन्त रेग्मीले १-१ विकेट लिए।
आजको खेलको संयोजन लण्डनमा रहेका नेपाली युवा ब्यासायी प्रशान्त कुँवरले गरेका हुन्।
बिहिबार भएको पहिलो अभ्यास खेलमा नेपाल मिडलसेक्स दोस्रोसँग चौध रनले पराजित भएको थियो।
बेलायतमा अभ्यास सकेपछि नेपाली टोली नेदरल्यान्डसँग ट्वान्टी-२० श्रृंखला खेल्न जून २९ तारिख नेदरल्याण्ड जानेछ।
नेपाल र नेदरल्याण्डबीच ३० देखि जुलाई ३ सम्म चारवटा ट्वान्टी-२० खेल्ने छ।