इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी–२० क्रिकेटअर्न्तगत् मंगलबार राति भएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली डेयर डेभिल्सलाई ५ विकेटले पराजित गरेको छ।
मुम्बईको घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले पूरा ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १५२ रनको योगफल तयार पार्यो। दिल्लीका लागि युवराज सिंहले सर्वाधिक ५७ रन जोडे। जेपी डुमिनीले बनाएको २८ रन दिल्लीका लागि व्यक्तिगत दोस्रो ठूलो स्कोर रह्यो।
बलिङतर्फ लासिथ मालिंगा र हरभजन सिंहले समान २–२ विकेट लिए।
१५३ रनको लक्ष्य मुम्बईले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो। एक समय हारको स्थितिमा देखिएको मुम्बईलाई अम्बाती रायडु र किरन पोलार्डले आकर्षक ब्याटिङ गर्दै जित दिलाएका हुन्। रायडुले अविजित ४९ रन बनाएको इनिङ्समा रोहित शर्माले ४६ र किरन पोलार्डले अविजित २६ रनको पारी खेले।
यो खेलपछि मुम्बई आइपीएलको अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ। पहिलो स्थानमा चेन्नई सुपर किंग्स यथावत छ भने दोस्रोमा राजस्थान रोयल्स र साविक विजेता कोलकाता नाइट राइडर्स तेस्रो स्थानमा छ ।