गत वर्ष कोलम्बोमा सम्पन्न दोस्रो महिला दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) मा दोस्रो स्थान हासिल गर्न सफल नेपाली राष्ट्रिय महिला फुटबल खेलाडीलाई नगद पुरस्कारसहित सम्मानित गरिएको छ।
आइतबार राजधानीमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा खेलाडीलाई युवा तथा खेलकुद मन्त्रलायका सचिव हरिप्रसाद नेपालले जनही ५० हजार रुपैयाँका साथै सम्मानपत्र प्रदान गरेका छन्।
त्यसैगरी गत वर्ष भियतनाममा सम्पन्न आठौँ एसियाली उसु प्रतियोगितामा नेपाललाई कास्य पदक दिलाउने खेलाडी झरना गुरुङलाई पनि नगद एक लाख र धावक सञ्जय पण्डितलाई पनि सम्मानपत्र मार्फत सम्मान गरिएको थियो।
लामो दूरीका धावक पण्डितले गत वैशाखमा सगरमाथाको आरोहणसमेत गरेका थिए।
सो अवसरमा सचिव नेपालले खेलकुद विकासमा खेल पूर्वाधार, प्रतियोगिता, प्रशिक्षण र खेलाडीलाई प्रोत्साहन गर्ने सरकारको चार स्पष्ट नीति रहेको जानकारी दिँदै सम्पूर्ण खेल सङ्घलाई आफ्नो चारवर्षे कार्यक्रम तयार पार्न आग्रह गरेका थिए।
सचिव नेपालले खेलाडीले पुरस्कारबापत पाउने रकममा सरकारले लगाउँदै आएको कर अबदेखि नलाग्ने बजेटमा उल्लेख गरिएको जानकारी समेत गराएका थिए।
उसु खेलाडी झराना गुरुङ र धावक सञ्जय पण्डितलाई सम्मान गरिदै । तस्विर : क्रान्ति थापा