काठमाडौ, साउन ३
ओलम्पियन स्नेहा राज्यलक्ष्मी राणाले राष्ट्रव्यापी खुला सुटिङ प्रतियोगिताको अन्तिम दिन विहिबार महिला १० मिटर एयर राइफलको उपाधि जितेकी छिन्।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा सम्पन्न प्रतिस्पर्धामा स्नेहाले सर्वाधिक १९५ अङ्क बटुल्दै रूपन्देही जिल्लालाई स्वर्ण पदक दिलाएकी हुन्। अर्की ओलम्पियन खेलाडी नेपाल प्रहरीकी फूलमाया क्याप्छाकी १९० अङ्कका साथ दोस्रो स्थानमा रहिन् भने १७० अङ्कका साथ प्रहरीकै दुर्गा सिन्जालीले तेस्रो स्थानमा चित्त बुझाइन्। कुल २०० पूर्णाङ्कमा भएको प्रतिस्पर्धामा चार विधा समावेश गरिएको थियो।
यसअघि पुरुषको १० मिटर एयर राइफलमा नेपाली सेनाका दीपक थापा तथा १० मिटर एयर पेस्तोलको पुरुषमा सेनाका कुवेर केसी र महिलामा प्रहरीकी सीमा तुलाधरले स्वर्ण जितेका थिए। चारै विधामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार जिते।
प्रतियोगितामा विभागीय टोलीको बर्चस्व रह्यो। नेपाली सेनाले दुई स्वर्ण, एक रजत र दुई कास्य जित्दै शीर्ष स्थानमा रह्यो भने प्रहरीले समान एक स्वर्ण, एक रजत र एक कास्य हात पार्दै दोस्रो भयो। रूपन्देही एक स्वर्णका साथ तेस्रो भयो। बाँकेले दुई रजत र सप्तरीले एक कास्य पदक जितेका थिए।
चार दिने प्रतियोगितामा ३३ पुरुष र ३२ महिला गरी ६५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा र कोषाध्यक्ष इन्द्रबहादुर थिङ तथा नेपाल सुटिङ सङ्घका अध्यक्ष पुष्पदास श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए। रासस
प्रकाशित मिति: 2013-07-18 22:33:51