दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग), एसियाली एवम् विश्वस्तरीय प्रतियोगितामा पदक हासिल गर्ने उद्देश्यले नेपाल कराते महासङ्घको आयोजनामा आजदेखि कराते छनोट प्रतियोगिता प्रारम्भ भएको छ।
प्रतियोगिताको एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का (राखेप) सदस्य सचिव युवराज लामाले त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा उद्घाटन गर्दै नयाँ नेतृत्व आगमनपश्चात अराजक रहेको कराते खेलले गति लिएको बताए।
उनले अधिकतम सहभागिता रहेको र उपाधि जित्ने सम्भावना रहेका खेललाई परिषद्ले लगानी गर्ने उद्देश्य रहेको जानकारी दिए।
प्रतियोगितामा छैठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीबाट चार टोली, सितेरियो, सोतोकान, वादोरियो र गोजुरियो करातेबाट चार टोली, चार विभागीय टोली (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विश्वविद्यालय) गरी कुल १२ टोलीको सहभागिता रहेको छ।
प्रतियोगितामा महिलातर्फ ४५, ५०, ५५, ६१, ६८, ६८ केजी तौल समूह माथि, व्यक्तिगत र टिम काता गरी १० र पुरुषमा ५०, ५५, ६०, ६७, ७५, ८४, ८४ केजी तौल समूह माथि, व्यक्तिगत र टिम काता गरी ११ विधामा प्रतिस्पर्धा गराइने नेपाल कराते महासङ्घका अध्यक्ष दाबा गुरुङले बताए।
प्रतियोगितामा २७८ जना खेलाडीको सहभागिता रहेको छ। अध्यक्ष गुरुङले आठौँ दक्षिण एसियाली खेलकुदमा करातेले हासिल गरेको नतिजालाई पुनरागमन गर्ने उद्देश्यले महासङ्घले रु ३२ करोडको कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए। रासस