विश्वकप क्रिकेट अन्तरगत शुक्रबार दक्षिण अफ्रिकाले वेष्टइन्डिजलाई २५७ रनको फराकिलो अन्तरले हराएको छ। अन्तिम तीन ओभरमा ८० रन बनाउँदै दक्षिण अफ्रिकाले वेष्टइन्डिजलाई ४०९ रनको लक्ष्य दिएको थियो। ठूलो लक्ष्य पछ्याएको वेष्टइन्डिज अफ्रिका सामू निरिह हुँदै ३३.१ ओभर खेल्दै १५१ रनमा समेटिएको हो। वेष्टइन्डिलाई सस्तैमा समेट्ने क्रममा अफ्रिकाका इमरान तहिरले ५ विकेट लिएका थिए।
यसअघि अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफ्रिकाले निर्धारित ५० ओभरको खेलमा ५ विकेट गुमाउँदै ४०८ रनको बिशाल स्कोर बनाएको थियो।
अफ्रिकाका लागि विष्फोटक ब्याटिङ गरेका एबि डिभिलियर्सले ६६ बल खेल्दै १६२ रनमा अभिजित रहे। यस्तै हासिम आमलाले ६५ फ्लादु प्लेसिसले ६२ रिले रोस्वोले ६१ रन बनाएका थिए।
वेष्टइन्डिजका लागि क्रिश गेल र आन्द्रे रूसेलले २-२ विकेट लिए।