आर्थिक वर्ष २०७०/७१ का लागि आइतबार प्रस्तुत गरिएको बजेटले खेल क्षेत्रको उत्साह बढेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले जनाएको छ।
सङ्घका महासचिव दीपक श्रेष्ठले आज जारी गरेको विज्ञप्तिमा बजेटमा खेलकुदले इतिहासमै नपाएको महत्व यसपटक पाएको जनाइएको छ।
सङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ,–“भौतिक पूर्वाधार नै नभएको वा भएका पनि जीर्ण अवस्थामा पुगिसकेको अवस्थामा यसपालीको बजेटले रु ५६ करोड पूर्वाधार निर्माणमा छुट्टाएको छ। यसबाहेक फरक ढङ्गले सक्षम, नेत्रहीन तथा बाल खेलकुदका लागि सरकारले बजेटमै तोकेर रकम विनियोजन गर्नुलाई हाम्रो सङ्घले सकारात्मक प्रयासका रुपमा लिएको छ।”
साथै काठमाडाँैको मूलपानी गाविस र भैरहवामा निर्माणधीन क्रिकेट मैदानलाई रकम विनियोजन गरिनुका साथै अन्तर्राष्ट्रियस्तरको अर्को नयाँ रङ्गशाला बनाउने घोषणा स्वागतयोग्य रहेको बताइएको छ।
दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आयोजनाको विषयलाई गम्भीरतापूर्वक लिंदै सरकारले आवश्यक रकम छुट्टाएको भन्दै महासचिव श्रेष्ठले आगामी दिनमा नेपाली खेल क्षेत्रले विकासको गति लिने विश्वास व्यक्त गरे।
यसैगरी, नौ खेलका राष्ट्रिय खेलाडीलाई मासिकरुपमा दिइने भत्ता रकम बढाएको भन्दै आगामी दिनमा अन्य खेलका खेलाडीलाई पनि यसैगरी नियमित भत्ताको व्यवस्था गर्न सरकारसमक्ष अनुरोध गरिएको छ। रासस