सुदूरपूर्वी इन्डोनेसियामा आइतबार भएको बक्सिङ प्रतियोगितामा भएको भागदौडमा १७ व्यक्तिले ज्यान गुमाएका छन्। बक्सिङ प्रतियोगितामा विजयी र उपविजेता समूहबीच भएको दङ्गापछि मच्चिएको भागदौडमा ती व्यक्तिहरुको मृत्यु भएको बताइएको छ।
यसरी ज्यान गुमाएका व्यक्तिमा १२ जना महिला पनि परेका जनाइएको छ। उक्त भागदौड रातिको समयमा भएकोले पनि ठूलो क्षति भएको बताइएको छ। उक्त विवादपछिको झडप र भागदौडका क्रममा अन्य ३८ जना घाइते भएका पनि समाचारमा उल्लेख छ। घाइतेहरु अस्पताल भर्ना भएको पपुवा प्रान्तका प्रवक्ता गेडे सुर्मेता जाभाले बताए।
आइतबार राति भएको उक्त बक्सिङ प्रतियोगिता हेर्नको लागि करिब एक हजार ५ सय स्थानीय व्यक्तिको सहभागिता रहेको बताइएको छ।
सन् २००८ को फेब्रुअरी महिनामा पनि इन्डोनेसियाको बाङ्डुङ्मा भएको यस्तै भागदौडमा परी कम्तीमा पनि १० जना युवाको मृत्यु भएको थियो।
सन् २०११ मा पनि जाकार्तामा इन्डोनेसिया र मलेसियाबीच भएको फुटबल प्रतियोगितामा दुई व्यक्तिको मृत्यु हुनुको साथै सयौं घाइते भएका थिए। रासस/एएफपी