लिग लिडर रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा चार अंकको अग्रता कायमै राखेको छ। गएराति रियल सोसिडाडलाई ४–१ गोल अन्तरले पराजित गर्दै लिगमा अग्रता कायमै राखेको हो।
मड्रिडको घरेलु मैदानमा भएको खेलमा सोसिडाडले अग्रता लिएको थियो। खेलको पहिलो मिनेटमै ३८ एलुस्टन्डोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
तर, पाहुना टोलीको अग्रता धेरैबेर टिक्न नपाउँदै खेलको तेस्रो मिनेटमा जेम्स रोड्रिग्बेजले रियल मड्रिडका लागि बराबरी गोल फर्काए।
खेलको ३७ औं मिनेटमा रामोसले गोल गरेपछि पहिलो हाफमा रियल मड्रिडले २–१ को अग्रता लियो। दोस्रो हाफको ५२ र ७६ औं मिनेटमा करिम बेन्जिमाले गोल गरेपछि मड्रिड ४–१ ले विजयी भयो।
गएरातिको जितपछि रियल मड्रिडको २० खेलबाट ५१ अंक भएको छ। समान खेल खेलेको बार्सिलोना ४७ अंकका साथ दोस्रो स्थानमा छ। यस्तै एक खेल बढी खेलेको एथ्लेटिको मड्रिडको पनि ४७ अंकसहित तेस्रो स्थानमा छ। भ्यालेन्सीया चौथो र सेभिल्ला पाँचौ स्थानमा छन्।