युवा तथा खेलकुद मन्त्रालय, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) तथा कोकाकोला नेपालको सहकार्यमा सञ्चालन हुने कोकाकोला कप फुटबल प्रतियोगिता–२०७० आजदेखि सुरु हुने भएको छ।
विहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एन्फा महासचिव धीरेन्द्र प्रधानले उक्त प्रतियोगितामा काठमाडौँ उपत्यकालगायत मुलुकभरका ४५ जिल्लाका सोह्र वर्षमुनिका एक हजार ११ पुरुष तथा एक सय महिला विद्यार्थी खेलाडीको सहभागिता रहने जानकारी दिए।
प्रतियोगिताका सम्पूर्ण खेल नकआउटका अधारमा खेलाइनेछ। उपत्यकाबाहेकका ४२ वटा जिल्लाका जिल्लास्तरीय प्रतियोगिता आगामी साउन ५ देखि ३२ गतेसम्म सञ्चालन हुनेछन् भने उपत्यकाका तीनवटै जिल्लाका १४६ विद्यालयका खेलाडीको खेल सानोगौरचन मैदानमा आजदेखि सञ्चालन हुनेछन्।
प्रतियोगिातमा छात्रा तथा छात्रतर्फ प्रथम स्थान हात पार्ने टोलीलाई रु तीन लाख, दोस्रालाई रु दुई लाख ५० हजार, तृतीयलाई रु ७५ हजार र चौथो हुनेलाई रु ५० हजार प्रदान गरिनेछ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, र फरवार्डलाई आकर्षक पुरस्कार प्रदान गरिने एन्फा अध्यक्ष गणेश थापाले बताए। साथै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई एन्फा एकेडेमीमा राखी निःशुल्क प्रशक्षिण प्रदान गरिने जनाइएको छ।
प्रतियोगिता सञ्चालनका लागि रु एक करोड २४ लाख ६० खर्च हुने आयोजकले जनाएको छ।
प्रकाशित मिति: 2013-07-11 23:39:25