कप्तान पारस खड्काको आक्रामक व्याटिङको मदतमा नामिवियामा जारी आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–२ मा नेपालले आयोजक राष्ट्र नामिवियालाई ३ विकेटले पराजित गरेको छ । जितसँगै नेपालले डिभिजन–१ मा उक्लिने सम्भावना बलियो बनाएको छ भने डिभिजन २ कायम हुने पक्का भएको छ ।
बुधवार भएको आफ्नो चौथो खेलमा नेपालले नामिवियालाई ३ विकेटले पराजित गर्दै आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–२ तेस्रो जित दर्ता गरेको हो । तेस्रो जितसँगै नेपालले डिभिजन–२ मा कायम रहने सम्भावना बलियो बनाएको छ ।
नामिवियाले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले ३७ दशमलब ५ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो ।
जवाफी व्याटिङमा उत्रिएको नेपाललाई सुरुवातमै झट्का लाग्यो ।
ओपनर व्याट्स म्यान नरेश वुढाएरको स्थानमा नामिवियाविरुद्ध क्रिजमा उत्रिएका सागर पुन ७ रन जोड्दै पेभिलियन फर्किए भने सुवास खकुरेल २५ बलमा ४ रन बनाउँदै आउट भए । त्सपछि नेपालको इनिङ्स कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाले ।
नेपालको इनिङ्स सम्हालेका कप्तान पारसले ६४ रन जोडे भने उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन बनाए । यस्तै विनोद भण्डारीले १८ , शरद भेष्वाकरले ७ रन जोडे भने आरिफ शेख एक रनमै पेभिलियन फर्किए । यस्तै बसन्त रेग्मी ५ र सोमपाल कामी २ रनमा अविजित रहे ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको नामिवियाले ४९ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रनको योगफल तयार पारेको थियो । नामिवियालाई सस्तैमा समेट्न नेपालका लागि करण केसीले ३, सोमपाल कामी, शक्ति गौचन र बसन्त रेग्मीले समान दुई–दुई विकेट लिएका थिए । यसअघि पहिलो खेल नेपाल युगान्डासँग २ रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई २ विकेट र क्यानडालाई ७ विकेटले पराजित गरेको थियो ।