नेपाल खेलकुद महासङ्घ र राष्ट्रिय बुद्धिचाल सङ्घ नेपालको संयुक्त आयोजनामा राजधानीमा जारी दोस्रो राष्ट्रिय फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा शीर्ष खेलाडी पराजित भएका छन्।
प्रतियोगिताअन्तर्गत सोमबार दोस्रो तथा तेस्रो चरणका खेल सम्पन्न भएका छन्। तेस्रो चरणको खेलमा २१३१ रेटेड पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली १९४७ रेटेड भगवतीप्रसाद शर्मासँग पराजित भए। अर्का पूर्व नेपाल च्याम्पियन २०५० रेटेड सुरवीर लामा १९४५ रेटेड झापाका प्रकाश नेपालसँग स्तब्ध भए। त्यस्तै अर्का पूर्व नेपाल च्याम्पियन १९७४ रेटेड नवीन तण्डुकारलाई दोलखाका १६८८ रेटेड विक्रमध्वज श्रेष्ठले पराजित गरे।
प्रतियोगिताका पछिल्लो संस्करणका विजेता गणेशमान दुवालका लागि आजको खेल बिर्सनलायक रह्यो। २००२ रेटेड दुवाल दोस्रो चरणमा १७६१ रेटेड दीपक महर्जन तथा तेस्रोमा स्याङ्जाका १५७४ रेटेड मोहनसिंह प्रधानसँग अप्रत्याशित हार व्यहोर्न पुगे।
प्रतियोगितामा भगवतीप्रसाद शर्मा तथा प्रकाश नेपालसँगै गोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थ (२०९२), मकवानपुरका कृष्ण थापा (२०२२), झापाका निरज निरौला (२०१२), ललितपुरका सुदीप बज्राचार्य (१९१७), काठमाडौँका कमल श्रेष्ठ (१८८१), मच्छिन्द्र क्लबका राजन पुरी (१९७७), टाइम्स इन्टरनेशनल कलेजका विवेक थिङ (१८८१) ले अग्रता लिएका छन्।
त्यसैगरी पूर्व नेपाल च्याम्पियन पूण्यमान कर्माचार्य (१९७९), मकवानपुरका धरमबहादुर लामा (१९७४), मोरङका पूर्णराज खड्का (१९६९) तथा सप्तरीका भुवनेश्वर चौधरीले (१७७७) समान तीनतीन अङ्कका साथ संयुक्त अग्रता लिन सफल भए।
मदनकृष्ण कायस्थले तेस्रो चरणमा फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ (१९२५) लाई हराएका छन् भने क्यान्डिडेट मास्टर रूपेश जयसवाल (१९९६) तेस्रो चरणमा कमल श्रेष्ठसँग पराजित भए।
दोस्रो चरणमा सर्लाहीका लवकुमार श्रेष्ठ (१८२०) सँग बराबरीमा रोकिएपछि प्रतियोगितामा दोस्रो वरियता प्राप्त फिडेमास्टर विलमलाल श्रेष्ठ (२१०४) २.५ अङ्कका साथ प्रतियोगिताको दोस्रो स्थानमा रहेका छन्।
प्रतियोगिताअन्तर्गत बुधबार चौथो तथा पाँचौँ चरणका खेल सञ्चालन हुने अन्तराष्ट्रिय अर्बिटर (रेफ्रि) उमेश केसीले जानकारी दिए। रासस