दक्षिण कोरियाको छेजुडोमा भएको १३ औँ अन्तर्राष्ट्रिय स्पोर्टस् फर अल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी रवीन अधिकारीले रजत पदक हात पारेका छन्।
पुरुषको ५६ केजीमुनि रवीनले स्पेन, मलेसिया र चीनका खेलाडीलाई पराजित गर्दै सोमबार रजत पदक जितेको तेक्वान्दो युनियन–नेपालका महासचिव राजकुमार कार्कीले जानकारी दिए। कार्कीका अनुसार फाइनल नतिजा भने रवीनले कोरियाली खेलाडीलाई १०–७ ले सुम्पेका थिए।
त्यसैगरी, सोही प्रतियोगिताको महिलाको ४६ केजीमुनि तारा पराजुलीले मलेसिया र अमेरिकाका खेलाडीलाई पराजित गर्दै कास्य पदक हात पारिन्। कोरियाली खेलाडीविरुद्धको सेमिफाइनलमा ताराले ७–५ ले गुमाइन्।
प्रतियोगितामा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पुरुषको ६० केजीमुनि कृष्ण श्रेष्ठ क्वाटरफाइनलमा कोरियाली खेलाडीसँग पराजित हुँदै पदकविहीन बने। रासस