'दशरथ चन्द मेधावी खेलाडी–२०६९' बाट आज विभिन्न खेलका पाँच खेलाडी सम्मानित भएका छन्।
सम्मानित हुनेहरूमा पूर्वाञ्चल विकास क्षेत्रबाट कराँतेकी गङ्गादेवी अधिकारी, मध्यमाञ्चलबाट क्रिकेटका पारस खड्का, पश्चिमाञ्चलबाट उसुकी झरना गुरुङ, मध्यपश्चिमाञ्चलबाट एथलेटिक्सकी केशरी चौधरी र सुदूरपश्चिमाञ्चलबाट फुटबलकी चन्द्रा भण्डारी रहेका छन्।
दशरथ चन्द मेमोरियल ट्रष्टले सहिद दशरथ चन्दको १११औँ जन्मजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धिका आधारमा मेधावी खेलाडी प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो। सर्वोत्कृष्ट खेलाडीको उपाधि हात पारेकी गङ्गाले रु १५ हजार रूपैयाँसहित सम्मानपत्र प्राप्त गरिन् भने अन्य चार उत्कृष्ट खेलाडीले रु १० हजार एक रूपैयाँ र सम्मानपत्र प्राप्त गरे।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा सहिद दशरथ चन्दको पूर्णकदको शालिक रहेको स्थानमा आयोजित कार्यक्रममा उनीहरूलाई पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वमन्त्रीद्वय लेखराज भट्ट र तारिणी चटौत, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना र सदस्य–सचिव युवराज लामालगायतले पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए।