तेस्रो साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । इस्लामाबादस्थित जिन्ना रङ्गशालामा हुने प्रतियोगितामा नेपालले स्थानीय समयानुसार दिउँसो १ बजे भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको नेपालको यो तेस्रो पटक हो । यसअघि सन् २०१० मा बंगलादेशको ककस बजारमा भएको पहिलो साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बङ्गलादेशलाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने सन् २०१२ मा श्रीलङ्कामा भएको दोस्रो साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले श्रीलङ्कालाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनल चरणमा प्रवेश गरेको थियो ।
त्यस्तै नेपालको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग तेस्रो पटक भिड्न लागेको हो ।
पहिलो साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल भारतसँग १–० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो साफ च्यााम्पियनसिप पनि नेपाल भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै उपविजेतामा चित्त बुझाउन बाध्य बनेको थियो । नेपालले सेमिफाइनल खेलमा बङ्गलादेशलाई पराजित गर्दै फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । त्यस्तै भारतले भने सेमिफाइनलमा श्रीलङ्कालाई पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको थियो ।
जारी प्रतियोगितामा नेपालले एक गोल पनि नखाई १४ गोल गरेको छ भने भारतले एक गोल खादै ३० गोल गरेको छ । भारतले बङ्गलादेशसँगको खेलमा एक गोल खाएको हो । त्यतिबेला भारतले बङ्गलादेशलाई ५–१ गोलअन्तरले पराजित गरेको थियो