पोखरा उपमहानगरपालिका–१७ दोविल्लामा सहारा एकेडेमी सञ्चालनमा आएको छ। सहारा क्लब पोखराको सहयोगमा विपन्न वर्गका बालकहरुलाई आवासीय रुपमा पठनपाठन, स्वास्थ्य र खेलकुदको सुविधा दिने उद्देश्यले उक्त एकेडेमी सञ्चालन गरिएको हो।
एकेडेमीमा आठदेखि दश वर्ष उमेरभित्रका सुर्खेत, ताप्लेजुङ्ग, पाल्पा, तनहँु, बागलुङ, स्याङ्जा, गोरखा, रुकुम र कास्कीका गरी नौ जिल्लाका १३ बालक राखिएका छन्। एकेडेमीमा ३० जना बालकसम्म राख्न सकिने बताइएको छ।
एकेडेमीको सहयोगमा ती बालकलाई एसएलसीसम्मको शिक्षा दिइने क्लबका वरिष्ठ उपाध्यक्ष वीरभद्र आचार्यले बताए।
वैदेशिक रोजगारीका लागि विदेश गएका नेपाली दाजुभाइ, विदेशी दातृ निकाय तथा स्वदेशी दाताहरुको सहयोगबाट रु एक करोड २७ लाख सङ्कलन गरी सो ठाउँमा सहारा एकेडेमीको भवन निर्माण गरिएको हो। रासस