मलेसियामा जारी आइसिसि विश्व क्रिकेट लिग डिभिजन तीनको उपाधिका नेपालले जितेको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४९.५ ओभरमा सबै विकेट गुमाएर २२३ रन बनाएको थियो। २२४ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको युगान्डा ४४.१ ओभरमा १६१ रनमा समेटियो।
युगान्डालाई मध्यम स्कोरमा रोक्न नेपालका लागि भुवन कार्कीले सर्वाधिक ४ विकेट लिए। ८ ओभर बलिङ गरेको कार्कीले ३९ रन खर्चिए। यस्तै बसन्त रेग्मीले २ तथा सोमपाल कामी, शक्ति गौचन र सागर पुनले समान एक-एक विकेट लिए।
यसअघि नेपालका लागि तीन खेलाडीले अर्धसतक प्रहार गरेका थिए।
ओपनर द्वय सागर पुन र नरेश बुढाऐरले १०७ रनको पार्टनरसिप गरेका उनीहरूले ब्यक्तिगत रूपमा अर्धसतक पनि पूरा गरेका छन्।
नरेशले ७३ बल खेल्दै १ छक्का र २ चौकासहित ५१ रन बनाए। यस्तै ९९ बल खेलेका सागरले १ छक्का र पाँच चौकासहित ६४ रन बनाए। उपकप्तान ज्ञानेन्द्र मल्लले पनि ५० रन पूरा गरेका छन्। ६५ बल खेलेका मल्लले ५ चौकासहित ५६ रन बनाए। यस्तै कप्तान पारस खड्काले १ छक्का सहित २१ बल खेलेर १३ रन जोडेका थिए। अन्य खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।
नेपालले आयोजक मलेसियालाई पराजित गर्दै डिभिजन टु मा बढुवा भएको छ । शीर्षस्थान हासिल गर्ने दुई टोली डिभिजन टु मा बढुवा हुने प्रावधान थियो । पहिलो खेलमा नेपाल युगान्डासँग २० रनले पराजित भएको थियो । युगान्डासँग २० रनले पराजित हुँदै मलेसिया यात्रा थालेको नेपालले त्यसपछि कुनै खेल गुमाएन। लिगको अन्तिम खेलमा बुधबार आयोजक मलेसियालाई डकवर्थ लुइस पद्धतिका आधारमा ३६ रनले हराएपछि नेपालले डिभिजन २ बढुवाको औपचारिकता पूरा गरेको हो।