मलेसियामा जारी आइसिसी लिग डिभीजन तीन अन्तर्गत आइतबार सिंगापुरसँग भएको खेलमा नेपालका उप-कप्तान ज्ञानेन्द्र मल्लले सतक हानेका छन्।
खेलको दोस्रो बलमा ओपनर सुबास खकुरेल आउट भएपछि उनको स्थानमा आएका मल्लले ११६ बलमा १०० रन पूरा गरेका हुन्। मल्लले १२ चौका र १ छक्का हानेका थिए। १२५ बलसम्म खेलेका मल्ल ११४ रन बनाएर आउट भए।
उनले ४० औं ओभरको पहिलो बलमा एक रन लिएर आफ्नो अन्तर्राष्ट्रिय शतक बनाएका थिए। एकदिवसीय स्वरूपको अन्तर्राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्रको यो पहिलो शतक हो। उनी एकदिवसीय स्वरूपको अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने सातौं नेपाली ब्याट्सम्यान बने। यसअघि नेपालको १८ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट सहभागितामा राजु खड्का, शक्ति गौचन, शरद् भेषावकर, अनिल मण्डल, सुवास खकुरेल, पारस खड्काले शतक बनाएका थिए।
ज्ञानेन्द्र सर्वाधिक व्यक्तिगत रन जोड्ने कीर्तिमान बराबरी गर्नबाट एक रनले चुके। ज्ञानेन्द्रले ३७ औं ओभरको सुरुका चार बलमा लगातार एक छक्का र तीन चौका हानेका थिए। सन् २०१२ को नोभेम्बरमा मलेसियामा भएको डिभिजन चार क्रिकेटमा सुवासले अमेरिकाविरुद्ध एक सय १५ रन जोडेका थिए। एकदिवसीय स्वरूपको अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडीले दुई वर्षपछि शतक प्रहार गरेका हुन्।
सन् २०१२ को अक्टुबरमा कप्तान पारस खड्काले एसीसी ट्रफी एलिटमा कुवेतविरुद्ध एक सय ६ रन जोडेका थिए। सोही वर्ष नोभेम्बरमा मलेसियामा भएको डिभिजन चारमा अनिल मण्डल र सुवास खकुरेलले शतक बनाएका थिए।
त्यसअघि अन्तिमपटक नेपाली खेलाडीले दुई वर्षअघि एकदिवसीय स्वरूपको अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका थिए। सन् २००५ मा यू-१५ राष्ट्रिय टोलीमा प्रवेश गरेर त्यसको एक वर्षपछि सिनियर टोलीमा ठाउँ बनाउन सफल ज्ञानेन्द्रले यू-१७ र यू-१९ स्तरमा पनि नेपालको प्रतिनिधित्व गरेका थिए।