मनमोहन स्मृति तेस्रो राष्ट्रिय टिम क्लब बुद्धिचाल प्रतियोगिताको उपाधि गोल्डेनगेट कलेजले हात पारेको छ। बुधबार राजधानीमा सम्पन्न फाइनल खेलमा गोल्डेनगेटले ललितपुर जिल्ला बुद्धिचाल सङ्घलाई २.५–१.५ अङ्कले पराजित गर्यो।
खेलमा गोल्डेनगेटका फिडे मास्टर (रेफ्रि) सौरभ खेरदेकरले ललितपुरका बद्रिलाल नेपालीलाई र मदनकृष्ण कायस्थले रवीन्द्र शाक्यलाई पराजित गरेका हुन्। सुरवीर लामाले सचिन महर्जनसँग बराबरी खेले भने ललितपुरका रत्न ब्यञ्जनकारले निरज निरौलालाई हराए।
बत्तीसपुतली युवा क्लबलाई २.५–१.५ अङ्कले हराउँदै मच्छिन्द्र क्लब तेस्रो भयो। मच्छिन्द्रका श्याम श्रेष्ठले हिमाल लामा तथा राजन पुरीले प्रकाश नेपाललाई हरायो। त्यसैगरी मच्छिन्द्रका विवेक थिङ र प्रचण्ड मालाकारबीचको खेल बराबरीमा सकियो। बत्तीसपुतलीका पुरुषोत्तम चौलागाइँले विजय डङ्गोललाई माथ गरे।
विजयी क्लब तथा खेलाडीलाई एक कार्यक्रबीच नेकपा (एमाले)का नेता भरतमोहन अधिकारीले ट्रफी, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए।
विजेता टोलीले रु ५० हजार, उपविजेताले रु ३० हजार, तेस्रोेले रु २० हजार र चौथौले रु १० हजार पुरस्कार प्राप्त गरे। यसैगरी प्रत्येक बोर्डमा उत्कृष्ट हुनेले जनही रु पाँच हजार पुरस्कार पाए।
पहिलो बोर्डमा मखन चेस क्लबका पुण्यमान कमाचार्य, दोस्रोमा गोल्डेनगेटका सौरभ खेरदेकर, तेस्रोमा चेस बचतकोष भक्तपुरका प्रज्ज्वलराज राजोपाध्याय र चौथोमा मध्यपुर चेस क्लबका उमेश सैंजु उत्कृष्ट खेलाडी भएका थिए।
मनमोहन चेस एकडेमीको आयोजना तथा जिल्ला सहकारी सङ्घ ललितपुरको सहप्रायोजनमा भएको छ दिने प्रतियोगितामा नेपालका १७ वटा राष्ट्रिय क्लबको सहभागिता थियो। रासस