झापाको सुरूङ्गामा जारी 'सुरुङ्गा गोल्ड कप' को दोस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ। राजधानीमा हालै सम्पन्न 'एन्फा कप' को विजयी टिम झापा–११ले आइतबार भएको दोस्रो सेमिफाइनलमा पाहुना टोली विआरसी भुटानलाई पेनाल्टी मार्फत हराउँदै उपाधि नजिक पुगेको हो।
झापा–११ ले आगामी कात्तिक ४ गते कञ्चनजंघा स्पोर्टिङ क्लब सिलगढीसँग उपाधिको लागि भिडन्त गर्नेछ।
स्थानीय कनकाइ उच्च माविको खेल मैदानमा भएको खेलको ७ औं मिनेटमा झापा ११ का तर्फबाट विशाल राई (ए) ले गोल गर्दै खेलमा टिमलाई अग्रता दिलाएका थिए। झापा ११ को अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको २३ औं मिनेटमा दिल्सन लिम्बूले भुटानका तर्फबाट गोल गर्दै खेलला२ बराबरीमा ल्याएका थिए।
यस्तै खेलको ३७ औं मिनेटमा भुटानकै तर्फबाट कप्तान युगल किशोर राईले गोल गर्दै खेलमा २–१को अग्रता लिए।
पहिलो हाफको ४१ औं मिनेटमा झापा–११ का दिलेन लोक्ताम र भुटानका क्याप्टेन युगल किशोरलाई एन्फा खेल रेफ्री श्याम दनुवारले खेलको नियम उल्लंघन गरेको भन्दै रातो कार्ड दिइ मैदान बाहिर पठाएका थिए। त्यसपछि दोस्रो हाफको खेलमा दुवै टिम १०/१० खेलाडीमा सीमित थिए।
दोस्रो हाफको २० औं मिनेटमा झापा–११ का तर्फबाट योगेश गुरुङले गोल किपरको हातबाट फुत्किएपछि सुन्दर गोल गर्दै खेल बराबरीको स्थितिमा पुर्याए। त्यसपछिको खेल अवधिभर थप कुनै गोल हुन नसक्दा खेलको निर्णय ट्राइब्रेकरबाट भएको थियो।
भुटानका विक्रम लिम्बुको प्रहार बारमा लागेर फर्किएपछि झापाको जित भएको थियो। विजयी झापा–११ का ५ जना खेलाडीकै प्रहार गोलमा परिणत भएको थियो। खेलको म्यान अफ द म्याच झापा–११ का विशाल राई (ए) घोषित भए। स्थानीय कनकाई उच्च माविको खेल मैदानमा असोज २८ गतेबाट शुरु भएको गोल्डकपको फाइनल खेल कात्तिक ४ गते हुने आयोजक समितिका सदस्य ज्योति उप्रेतीले जनाए। विजयी तथा उप-विजयी हुन टिमले क्रमशः १ लाख ११ हजार १ सय ११ र ५१ हजार १ सय ११ रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्।
समापन खेलका दिन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल आउने तय भएको आयोजक समितिका सदस्य राजकुमार कट्टेलले बताए।