अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाले आफू महान सपूत भीमसेन थापा जस्तो नसेरिने उद्घोष गरेका छन्।
वर्षौंदेखि थापाको नेतृत्वमा रहेको एन्फाभित्र चरम आर्थिक अनियमितता भएको आरोपसहितको उजुरी पत्र संसदको सार्वजनिक लेखा समितिमा परेपछि समितिको बैठकमा जवाफ दिन पुगेका एन्फा अध्यक्ष थापाले यस्तो अभिव्यक्ति दिएका हुन।
नेपालको इतिहासमा राष्ट्रिय हित संरक्षणका इमान्दार भएर लडाइ लड्ने भीमसेन थापाले अन्त्यमा सेरिनु परेको प्रसंग उल्लेख गर्दै अध्यक्ष थापाले समितिको बैठकमा आक्रोसित हुदै भने, 'म उनकै सन्तान नभएपनि आफन्त हुँ तर म उनले जस्तो सेरिन्न।'
एन्फाकै केहि पदाधिकारी सदस्यहरुदेखि लेखा समितिका सदस्यहरु समेत आफ्नो विरुद्धमा नियोजित ढंगले लागेको आरोप लगाउँदै खेलकूद मन्त्रालयदेखि अख्तियारले समेत एन्फाको विषयमा छानबिन गरिरहेको अवस्थामा समितिले हात नहालेको भए राम्रो हुने धारणा राखेका थिए।
एन्फाकै उपाध्यक्ष कर्माछिरिङ शेर्पासहित असन्तुष्ट पदाधिकारीहरुले संस्थालाई विधि विधान विपरित वर्षौदेखि व्यक्तिगत रुपमा चलाउँदा संस्थाभित्र भएको अनियमितताबारे छानविन गर्न माग गर्दै लेखा समितिमा उजुरी दर्ता गरेका थिए।
थापालाई एएफसीका पूर्वअध्यक्ष महमद विम हमामबाट उनका छोरा गौरव थापाले एक लाख डलर किम्बु कन्सट्रक्सनका नाममा लिएको, कतार फुटबल संघबाट ८ लाख डलरमध्ये २ लाख डलर लिएको, कान्छो छोराको नाममा समेत बैकमा खाता खोलेको, एन्फाको खाताको पैसाको व्याजको हिसाबकिताव पारदर्शी नबनाएको आरोप लागेको छ।
त्यसैगरी उनीविरुद्ध, एन्फाको भवन नियम विपरित बनाएको, फिफाको वर्ल्ड कन्फरेन्समा राप्रपा नेपालका अध्यक्ष एवम् उनका सहोदर दाजु कमल थापा, श्रीमती हजुरी थापा र लोकबहादुर शाहीलाई सदस्यका रुपमा सहभागी गराएको आरोप लागेको छ।
आफू विरुद्ध लागेको आरोपको बचाउ गर्दै थापाले आफ्नै कारणले मात्रै एन्फाले फिफा र एएफसीबाट मान्यता पाएको र एन्फालाई सबै हिसाबले सवल र सक्षम बनाएको दाबी गरेका थिए।
कान्छो छोराको नाममा बैंक खाता नखोलेको दाबी आक्रामक शैलीमा राखेपनि समितिका सदस्यहरुले उठाएका अरु प्रश्नहरुको जवाफ भने सन्तोषजनक रुपमा दिन सकेनन्।
समितिको बैठकमा उपस्थित खेलकूद मन्त्रालयका सचिव दिपेन्द्र शर्माले बोल्दै नेपालमा सबै क्षेत्रमा लोकतन्त्र आए पनि खेलकूद भित्र पनि खेलकूद हुने कुनै पनि संघसंस्थामा लोकतन्त्र नआएको धारणा राखे।
खेलकूदभित्रका कुनै पनि संघहरुमा राष्ट्रिय विधि विधानको पालना गरी आर्थिक रुपमा पारदर्शीता अपनाउन भन्दा व्यक्तिबादी आधारमा चलिरहेकोले व्यापक सुधारको आवश्यकता रहेको शर्माले बताए।
थापाले दिएको जवाफबाट सन्तुष्ट हुन नसकेपछि समितिले युवा तथा खेलकूद मन्त्रालयसँग तीन दिनभित्र थप विवरण समितिलाई पठाउन आग्रह गरेको छ।
समितिले खेलकूद मन्त्रालयसँग माग गरेका विवरणहरुको सूचिमा मन्त्रालयबाट भएको छानविनको प्रतिवेदन, उजुरीकर्ताले उठाएका प्रश्नहरुको लिखित जवाफ –(पूष्टी हुने कागजात) र एन्फाको विगत ५ वर्षको आर्थिक वर्षको आय व्ययको विवरण र बैक कारोबारको विवरण छन्।