अखिल नेपाल फुटवल संघ एन्फाले गरेको सबै काम कारबाहीको कागजात तीन दिनभित्र पेश गर्न व्यवस्थापिका संसदअन्तर्गतको लेखा समितिले निर्देशन दिएको छ।
एन्फाभित्र भ्रष्टाचार भएको भन्ने खबर आएपछि छानबिन गर्न भन्दै पाँच वर्ष देखिको लेखा परिक्षण प्रतिवेदनसमेत तीन दिनभित्र वुझाउन समितिले निर्देशन दिएको हो।
आज बसेको समितिको बैठकले आगामी साउन ११ मा बस्ने वैठकमा युवा तथा खेलकुद मन्त्रालयका सचिव र एन्फाका पदाधिकारीलाई बोलाएको छ।
एन्फाकै पदाधिकारीहरुले एन्फाका अध्यक्ष गणेश थापाले अवैध रुपमा पैसा ल्याई भ्रष्टाचार गरेको आरोप लगाउदै आएपछि एन्फामा भ्रष्टाचार भएको भन्ने विषयमा विवाद बढेकाले प्रक्रियामै गएर छलफल गर्नुपर्ने समितिका सदस्यहरुले बताएका छन्।